प्रवासी नेपाली मञ्च यूकेमा चुनावकेन्द्रित प्रशिक्षण
लन्डन । नेपाली नयाँ वर्ष २०७९ को अवसरमा प्रवासी नेपाली मञ्च यूकेको शुभकामना आदानप्रदान तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीको प्रमुख आतिथ्य तथा प्रवासी एकता मञ्च अन्तराष्ट्रिय कमिटीका अध्यक्ष भक्त गुरुङको विशेष आतिथ्यमा आइतबार कार्यक्रम भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि नेता टोपबहादुर रायमाझीले नेपालमा अब राजनीतिक आन्दोलनहरू पूरा भइसकेकाले विकास र समृद्धिको युग शुरु भएको बताए । नेपालमा विकास र समृद्धिको अभियानलाई नेकपा एमालेको नेतृत्वले मात्रै साकार पार्न सक्ने धारणा उनले व्यक्त गरे ।
नेता रायमाझीले नेपाली कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्दै समाजवादको स्थापना गर्ने उद्धेश्य नेकपाको गठन गरी झन्डै दुई तिहाइको सरकारको नेतृत्व गरिरहेको अवस्थामा पार्टी भित्र र बाहिरका लोभी पापीहरुको झुन्डले गिराएको आरोप लगाए । नेपाली कम्युनिष्ट आन्दोलनको संवाहक तथा नेकपाको निरन्तरता नेकपा एमाले नै भएको दाबी गर्दै उनले आसन्न स्थानीय निर्वाचनमा नेकपा एमालेका उम्मेदवारहरूलाई विजयी गराउन प्रवासी नेपालीहरूलाई आ-आफ्नो ठाउँबाट हर सम्भव सहयोग गर्न अनुरोध गरे।
नेकपा एमालेको लोकप्रियता र बलियो जनआधार देखेर प्रतिपक्षविरूद्ध सरकारमा सामेल दलहरु गठबन्धनको लागि मरिहत्ते गरिरहेको उनको भनाइ थियो ।
कार्यक्रममा प्रवासी नेपाली मञ्च अन्तरराष्ट्रिय कमिटीका अध्यक्ष भक्त गुरुङले पनि आसन्न निर्वाचनमा नेकपा एमालेलाई विजयी गराउनका निम्ति खटिन मञ्चका सबै सदस्य तथा नेताहरूलाई आह्वान गरे ।
मञ्चका बेलायत अध्यक्ष सुरेन्द्र थपलियाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सन्चालन मञ्चका उपाध्यक्ष तथा वैचारिक अनुसन्धान विभागका प्रमुख बालकृष्ण भुसालले गरेका थिए।
त्यस अवसरमा मञ्चको युरोप कमिटीका इन्चार्ज भक्तबहादुर वाग्ले र उपाध्यक्ष एवम् यूके तथा दक्षिणपूर्वी युरोप इन्चार्ज विनोद ज्ञवालीले पनि आफ्नो मन्तव्य राखेका थिए ।
आइतबारको प्राशिक्षणपछि मञ्चले आसन्न स्थानीय निर्वाचनलाई लक्षित गरी अभियान चलाउने भएको छ । जसअनुसार पार्टीको लागि बेलायतबाट आर्थिक सहयोग संकलन गर्ने तथा बेलायतस्थित पार्टीका नेता, कार्यकर्ता चुनावी प्रचार प्रसारका लागि नेपाल जाने योजना बनाइएको छ ।