आइतबार, मंसिर ९, २०८१
09:05 | १४:५०

पल प्रकरणमा नबालिका र बाबुको बयान फेरियो, बलात्कार नभएको भन्दै दिए बकपत्र

नेपाली लिङ्क अप्रिल १७, २०२२

काठमाडौं- अभिनेता पल शाहविरुद्ध बलात्कारको मुद्धामा नाबालिका गायिकाले बयान फेरेकी छन्। 

आइतबार तनहुँ जिल्ला अदालतमा बकपत्र दिंदै उनले पलले आफूलाई बलात्कार नै नगरेको बयान दिएकी छन् । उनले जाहेरीमा उल्लेखित विवरणहरू सत्य नभएको बताएकी छन् ।

नाबालिका गायिकाले आफूले अरूको उक्साहटमा परेर जाहेरी दिन पुगेको दाबी गरेकी छन् । पीडितका तर्फबाट जाहेरी दिने उनका बाबुले पनि दबाब र प्रभावमा परेर जाहेरी दिएको र बलात्कार नभएको बकपत्र दिएका छन् ।

पलविरुद्ध गत वर्ष बैशाखमा तनहुँमा नाबालिग गायिकालाई बलात्कार गरेको आरोपमा फागुन ११ गते ती बाबुले जाहेरी दर्ता गराएका थिए । 

त्यसपछि गत फागुन १५ गते आफैं तनहुँ प्रहरी कार्यालय पुगेर आत्मसमर्पण गरेका शाहविरुद्ध अदालतमा जबरजस्ती करणी मुद्दा दर्ता भएको थियो ।

जबर्जस्ती करणीको अभियोगमा थुनछेक बहसपछि कलाकार शाह पुर्पक्षका लागि थुनामा छन् ।

अदालतले आज पीडित र साक्षीको बकपत्र लिएको छ । गत चैत १० गते शाह पुर्पक्षका लागि थुनामा गएपछि तनहुँ अदालतको आदेश बदर गर्न माग गर्दै उच्च अदालत पोखरामा निवेदन दर्ता भएको छ ।
तनहुँ अदालतका इजलास अधिकृत कृष्ण गौतमले पल शाह प्रकरणमा आज बकपत्र लिने काम भएको जानकारी दिए ।
प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू