बिहीबार, माघ ३, २०८१
08:00 | १३:४५

एनआरएनएका सबै असहमति अन्त -अध्यक्ष केसी

नेपाली लिङ्क अप्रिल १६, २०२२

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. बद्री केसीले नयाँ वर्षदेखि संस्थाभित्रका सबै असहमति हट्ने बताएका छन् । डा. केसीले गैरआवासीय नेपाली संघ अमेरिका क्षेत्रीय समितिले शनिबार आयोजना गरेको नयां वर्ष २०७९ को अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उक्त विचार व्यक्त गरेका हुन् ।

केसीले संघको वर्तमान कार्यसमिति जम्बो भएको आलोचना भए पनि संस्थाको हितका लागि सशक्त रुपमा परिचालन गरेर अघि बढ्न सकिने बताए । उनले १० औं महाधिवेशनले संघको विभाजनको बिउ रोपिएको बताउंदै वर्तमान अध्यक्ष कुल आचार्यलाई पूर्ण रुपमा सहयोग गरेर अघि बढ्ने प्रतिवद्धता जाहेर गरे ।

उनले संस्थाभित्र विवाद आउंदा तेस्रो व्यक्तिले फाइदा लिने गरेको अनुभव सुनाउंदै त्यसतर्फ सजक रहन आग्रह गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दे गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेम राज शर्माले १० औं महाधिवेशनमा भएका कमीकमजोरीबारे आत्मआलोचना गर्नुपर्ने बताए । शर्माले संघ अभियानमा अमेरिका क्षेत्रको महत्वपूर्ण भूमिका रहेको पनि बताए ।

संघका महासचिव गौरीराज जोशीले नयां कार्यसमितिबाट काम गर्न त्यति सजिलो नभएको भन्दै आफू त्यति आशावादी नभएको बताए । उनले आगामी १८ महिनामा निष्पक्ष निर्वाचन गरेर नेतृत्व हस्तान्तरण गर्न सक्नु नै ठूलो उपलब्धि हुने बताए ।

उनले विधान, कार्यसमिति, सचिवालय, एनआरएनए राष्ट्रिय समितिमा थुप्रै समस्या र चुनौती भएको बताए । उनले वर्तमान कार्यसमिति कठिन अवस्थामा रहेको बताए ।

संघका उपमहासचिव रामशरण सिम्खडाले संस्थामा विधानको सर्वोच्चता स्वीकार नगर्दा विवाद आएको बताए । उनले संस्था व्यक्तिको सनकको भरमा होइन् पद्धतिले चल्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा संघका सचिव प्रमोद सिटौलाले वर्तमान कार्यसमितिको सुरुवातनै निराशाजनक भएको बताए । उनले १० औं महाधिवेशनमा निर्वाचन किन हुन सकेन भन्ने विषयमा व्यापक छलफल हुनु पर्नेमा जोड दिए ।

संघका कोषाध्यक्ष सुनिल शाहले सचिवालयले प्रष्ट नीति ल्याउन नसके संस्था झन् कमजोर हुने बताए ।

उनले नेतृत्वमा पुगेर अरुलाई दोष लगाएर पछि हट्न नमिल्ने तर्क गरे । उनले संस्थाको विधान पारित भइसकेपछि सबैले मानेर अघि बढ्नु पर्ने बताए ।

एनआरएनए अमेरिकाका अग्रज कृष्ण लामिछानेले व्यक्ति भन्दा संस्था ठूलो हो भन्ने मान्यताका आधार संघको १० औं महाधिवेशनमा भएको भागबण्डालाई मानेर अघि बढ्न बाध्य भएको बताए ।

उनले संस्थाका पदाधिकारीभित्र व्यापक छलफल गरेर संस्थाका समस्या समाधान गर्न सुझाव दिए ।

कार्यक्रममा उपाध्यक्षहरु यसमिन बेगम, रोशन थापा, उपमहासचिव ओम गुरुङ, शंकर खड्का, डा. देवी बस्नेत, राधिका गुरुङ, लगायतको उपस्थिति थियो ।

उक्त कार्यक्रम संयोजन क्षेत्रीय संयोजक प्रकाश सापकोटाले गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू