बिहीबार, माघ ३, २०८१
04:27 | १०:१२

ओलीलाई ‘मेधावी योगदान पदक’  

पदक प्राप्त गर्ने ओली पहिलो नेपाली

रासस अप्रिल १४, २०२२

राष्ट्रपति विद्यादेवी भण्डारीबाट पूर्व प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई विश्व स्काउट संगठन, एशिया प्रशान्त क्षेत्रको सबैभन्दा ठुलो पदक …मेधावी योगदान पदक’ प्रदानपछि सामूहिक तस्बीरमा खिचाइँदै । तस्बीर- प्रकाश सिलवाल, रासस

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई विश्व स्काउट संगठन, एशिया प्रशान्त क्षेत्रको ठूलो मानिने ‘मेधावी योगदान पदक’ प्रदान गरेकी छन् ।

नेपाल स्काउटद्वारा आज आयोजित समारोहमा राष्ट्रपति भण्डारीबाट सो पदक प्रदान गरिएको हो । प्रधानमन्त्री रहँदा नेपाल स्काउटको अभियान विकास, विस्तार र प्रवद्र्धनमार्फत बालबालिका तथा युवाको सर्वपक्षीय विकासमा पुरयाएको योगदानको कदर गर्दै ओलीलाई सो पदक प्रदान गरिएको हो ।

समारोहमा राष्ट्रपति भण्डारीले शान्तिपूर्ण 
राजनीतिक यात्राका क्रममा लामो जेल जीवन बिताएर मुलुकका लागि पूर्वप्रधानमन्त्री ओलीले दिएको योगदानप्रति ‘मेधावी योगदान पदक’ ले गौरव प्रदान गर्ने बताइन् ।

उनले स्वयंसेवा र अनुशासनका माध्यमबाट नेतृत्व विकास गराउन स्काउटको सान्दर्भिकता रहेको उल्लेख गर्दै नेपाली बालबालिका र युवालाई अनुशासित, जागरुक र कर्तव्यनिष्ट बनाइ विश्वस्तरमा प्रतिस्पर्धी तुल्याउन स्काउटले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताइन् ।

राष्ट्रपति भण्डारीले चुनौतीको सामाना गर्दै नेपाल स्काउटले आफूलाई हरेक प्रदेश र पालिकास्तरमा विस्तार गर्न सकेकामा प्रशंसा पनि गरिन् ।

पदक ग्रहणपछि अध्यक्ष ओलीले मानव कल्याणका लागि अझै गतिशील र संगठित हुन स्काउटलाई आग्रह गर्दै चारित्रिक र नैतिक हिसाबले आदर्शवान समाज निर्माणमा अग्रसर हुनुपर्ने बताए ।

स्काउटलाई अप्ठ्यारा साथीका रुपमा उनले चित्रण गरे । समारोहमा विश्व स्काउट संगठन, एशिया प्रशान्त क्षेत्रका अध्यक्ष, निर्देशकलगायत विदेशी पाहुनाको सहभागिता थियो ।

सो अवसरमा नेपालका ज्येष्ठ स्काउट कलाकार प्रा गोविन्दनारायण ज्यापुलाई पनि सम्मान गरिएको थियो ।

नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीका अनुसार अध्यक्ष ओली सो पदक प्राप्त गर्ने पहिलो नेपाली हुन् ।

नेपाल स्काउट ऐन २०५० ले प्रधानमन्त्रीलाई नेपाल स्काउटको संरक्षक हुने कानुनी व्यवस्था गरेको छ ।

प्रधानमन्त्रीकै रुपमा ओलीले विभिन्न स्काउट कार्यक्रममा सहभागिता जनाउनुका साथै 
‘बालबालिकासंग प्रधानमन्त्री’ भन्ने कार्यक्रम सुरु गराएका थिए ।

ओलीकै पहलकदमीमा पछिल्लो समय नेपाल स्काउटको संरचना ७५३ वटै पालिकामा विस्तार भएको छ भने बजेटमै प्रबन्ध भई देशका सबै विद्यालयमा स्काउट एकाइ सञ्चालन गर्ने कार्य थालनी भएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू