बेलायतको रेडिङमा मनाइयो रामनवमी
लन्डन । हिमालयन सिद्ध महायोग परिवार यूके -युरोपको आयोजनामा बेलायतको रेडिङमा रामनवमी पर्व मनाइएको छ । रामनवमीको पहिलो दिन हिमालयन सिद्ध महायोग परिवार यूके-युरोपले यूकेको रेडिङस्थित साधना केन्द्रमा घटस्थापना गर्दै रामनवमी अनुष्ठान शुभारम्भ गरेको थियो ।
भौतिक रुपमा आश्रममा उपस्थित हुन नसक्ने साधकहरु जुमबाट सहभागी भएका थिए । दैनिक बेद मन्त्र, जप, नवाह परायण, किर्तन, रामरक्षास्तोत्र, आरति गरिएको थियो ।
९ दिन सम्म चलेको यस अनुष्ठान भक्त तथा उपासकहरुले रामनवमी व्रत बसेर, रामचरितामानस, राम रक्षा स्तोत्र, हनुमान चालिसा जस्ता ग्रन्थ वा स्तोत्र पाठ गरेर, स्तुती गाएर तथा भजनकिर्तन गरेर कार्यक्रम भव्य रुपमा मनाए ।
यस अवसरमा बेलायत, डेनमार्क, अष्ट्रेलिया, अमेरिका, इन्डोनेसिया र क्यानाडावाट विभिन्न समूहहरुको सामूहिक उपस्थिति र सहभागितामा २६ घण्टे अखण्ड किर्तन पनि उत्साहकासाथ पूरा भएको थियो । अखण्ड किर्तनले मानिस भित्र रहेको सकारात्मक उर्जालाई बाहिर ल्याउने एउटा राम्रो अवसर पाएको सहभागीहरुले बताए ।
परदेशमा बसेर आफ्नो जन्मभूमिको सनातन संस्कृति अनुरुप रामनवमी अनुष्ठान कार्यक्रमले आफ्नो पुर्खादेखि चलिआएको रितिरिवाज तथा संस्कार संस्कृतिको प्रबर्धन गर्नमा सहयोग पुरयाउने आयोजकको आशा छ ।
साधकजनका अनुसार निलाहार वा पूर्ण फलाहार गरेर विधिपूर्वक यो ९ दिने अनुष्ठान गर्नाले अध्यात्म तथा कुण्डलिनी शक्तिको जागरणमा समेत सहयोग पुग्नेछ ।
विशेषगरि यस अवधिमा योग, साधना तथा ध्यान गर्दा मानिसको स्वभाव तमगुणबाट रजगुण र रजगुणबाट सतगुण तर्फ विकास हुँदै जाने बताइन्छ । यूकेका साधकहरु भन्छन्, ‘यूकेवासी नेपाली दाजुभाइ दिदीबहिनीहरुले यूकेमै बसेर यस्तो अत्यन्त महत्वपूर्ण अनुष्ठानमा सहभागी हुन पाउनु नेपालको चतराधाम आश्रमका पीठाधीशरामानन्दचार्य स्वामी जगतगुरु श्री रामकृष्णाचार्य महाराज जी महायोगी सिद्धबाबाका कृपाले प्राप्त भएको हो ।’
कार्यक्रममा सहभागी अनुष्ठान कर्ताहरु कार्यक्रमले आफ्नो जीवनमा एक नौलो अनुभव थपेको, आफूमा विशेष कृपा प्राप्त हुनुको फलस्वरुप उर्जा थपिएको, भक्तिभाव बढेको, आध्यात्मिक बाटोमाअगाडि बढ्न ठूलो प्रेरणा मिलेको बताउंदै यस्ता कार्यक्रमहरु नियमित रुपमा गर्नुपर्ने बताउंछन् ।
नवपरायण समापन पछिका सबै कार्यक्रमहरु आश्रम नजिकै एक हलमा भएको थियो । संस्थाका अध्यक्ष गोविन्द घिमिरेले कार्यक्रम सम्पन्न गर्न सहयोग गर्ने सबै पदाधिकारी, साधक लगायत संयोजकद्वय लक्ष्मण श्रेष्ठ र प्रकाश तिवारीप्रति धन्यवाद व्यक्त गरे ।
अघिल्ला पर्वहरु कृष्णजन्माष्टमी, नवरात्री, विवाहपञ्चमी र अहिले रामनवमी कार्यक्रमको सफलताबाट आफूहरु निकै उत्साहित भएको र भविष्यमा सबै चाडपर्वहरु यसरी नै भव्यताकासाथ खुला मन्च वा आफ्नै विशाल आश्रम भवनबाट गर्ने प्रण रहेको हिमालयन महायोग परिवार यूके-युरोपका पदाधिकारीले बताएका छन् ।
छोटो सूचनाको वावजुद पनि झन्डै दुई सय जनाको उपस्थितिले कार्यक्रमको शोभा बढेको भन्दै माहायोग परिवार, यूके-युरोपले दिएकोमा रेडिङ नेपाली समुदायप्रति आभार प्रकट गरेको छ ।