बिहीबार, माघ ३, २०८१
04:28 | १०:१३

अर्थतन्त्रमा संकट नआएको अर्थमन्त्रीको दाबी

रासस अप्रिल ११, २०२२

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्रमा कुनै पनि संकट नआएको जिकिर गरेका छन् । अर्थमन्त्रीले भने, “हालसम्म उपलब्ध विवरणका आधारमा पनि अर्थतन्त्रमा ठूलो संकट आएको छैन ।”

अर्थ मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले अर्थतन्त्रलाई नियमित गतिमा चल्न दिनुपर्ने बताए । उनले व्यवसायी र जनतालाई हतोत्साही बनाउने गरी प्रचार भइरहेको भन्दै त्यस्तो नगर्न आग्रह गरे ।

अर्थतन्त्रलाई नियमति बनाउन सरकार सतर्क भएर लागिपरेको उनको भनाइ छ । मुलुकको पछिल्लो आर्थिक अवस्थाबारे जानकारी दिने उद्देश्यले आज पत्रकार सम्मेलनको आयोजना गरिएको अर्थसचिव मधुकुमार मरासिनीले जानकारी दिए ।

कानूनसम्मत गभर्नरमाथि छानबिन

अर्थमन्त्री जनार्दन शर्माले कानून सम्मत् तरिकाले नै नेपाल राष्ट्र बैंकका गभर्नरमाथि छानबिन गरिएको बताए । उनले राष्ट्र बैंक ऐनअनुसार नै गभर्नरमाथि छानबिनको प्रक्रिया अगाडि बढाइएको बताए ।

उनले छानबिनका लागि समिति गठन भइसकेकाले सोही समितिले दिने रिपोर्टका आधारमा थप निर्णय हुने उल्लेख गरे । गत बिहिबारको मन्त्रिपरिषद् बैठकले गभर्नर महाप्रसाद अधिकारीमाथि छानबिन गर्ने निर्णय गरेको थियो । गभर्नरमाथि छानबिन समिति गठन भएपछि स्वतः निलम्बन हुने व्यवस्था छ ।

छानबिन समिति गठन भएकाले यस विषयमा थप टिप्पणी गर्नु आवश्यक नभएको अर्थमन्त्रीको भनाइ छ ।

निक्षेपको तुलनामा कर्जा विस्तार बढी भए पनि त्यसले अर्थतन्त्रमा गुणस्तरीय प्रतिफल प्राप्त नभएको अर्थमन्त्रीले बताए । आफूले मन्त्रालय र मन्त्रालय मातहतका कुनै पनि निकायमा हस्तक्षेप नगरेको बरु नेतृत्व प्रदान गरेको उनको जिकिर थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू