बिहीबार, माघ ३, २०८१
07:44 | १३:२९

मगर संघ यूके अध्यक्षमा तीन मत अन्तरले सीता पुन विजयी

नेपाली लिङ्क अप्रिल १०, २०२२

लन्डन-मगर संघ यूकेको अध्यक्षमा सीता पुन मगर विजयी भएकी छन्। शनिबार सम्पन्न निकै प्रतिस्पर्धात्मक निर्वाचनमा मात्र तीन मत अन्तरले राम गलामीलाई पराजित गर्दै उनी संस्थाको पहिलो महिला अध्यक्ष निर्वाचित हुन सफल भइन् । 

निर्वाचन समितिद्वारा घोषित मतपरिणामअनुसार पुनले २ सय १६ मत प्राप्त गरी विजयी हुँदा अर्का प्रतिस्पर्धी गलामीले २ सय १३ मत पाए । कुल ८ सय ६४ मतदातामध्ये ४ सय ३१ मत खसेकोमा दुई मत बदर भएको थियो ।  

मगर संघ यूकेको सातौँ कार्यसमितिमा सबै पद निर्विरोध भएपनि अध्यक्षमा निर्वाचन भएको हो । अध्यक्ष पदका दुवै उम्मेद्वार अघिल्लो कार्यसमितिका उपाध्यक्ष हुन् ।   

नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई निर्वाचन समितिका प्रमुख मीन दर्लामीले शपथ ग्रहण गराएका थिए भने सदस्यसचिव नरेश खपांगीले निर्वाचित कार्यसमितिको घोषणा गरेका थिए ।  

निर्वाचित भएपछि अध्यक्ष पुनले आफ्नो कार्यकालमा संस्थाको सेवक बनेर काम गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।

उता, पराजित गलामीले पनि आफूलाई समर्थन गर्ने तथा मत दिने सबैलाई धन्यवाद दिंदै निर्वाचित अध्यक्ष र कार्यसमितिलाई पूर्ण साथ दिने प्रतिवद्धता गरे।  

नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा लालबहादुर पुनमगर, उपाध्यक्षमा रुद्र थापामगर र होम रोकामगर, महिला उपाध्यक्षमा निर्मला थापामगर, सचिवमा गुमानसिंह थापामगर, सहकोषाध्यक्षमा थाम बहादुर रोकामगर निर्विरोध निर्वाचित भए ।  

त्यस्तै, सदस्यहरुमा रुकबहादुर आलेमगर, गोमानसिंह पुनमगर, सरला थापा रोकामगर, नुनु पाइजा मगर, टेन्याङ्ग (सरु) गुरुङ रानामगर, सुशिला मगर, रमेश दुरामागर, मोहन बहादुर थापामगर, किशोर रानामगर, नरेश थापामगर र बोधबिक्रम थापामगर निर्विरोध भएका छन् ।

कुनै उम्मेद्वारी नपरेका महासचिव, कोषाध्यक्ष र एक सदस्यमा नवनिर्वाचित कार्यसमितिले मनोनयन गर्ने बताइएको छ । 

तस्विर: मिलन तमु 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू