बिहीबार, माघ ३, २०८१
07:38 | १३:२३

लन्डन दूतावासबाट फर्किएका सुवेदी फेरी राजदूत सिफारिस

नेपाली लिङ्क अप्रिल ७, २०२२

डा दुर्गाबहादुर सुवेदी

लन्डन । बेलायतस्थित लण्डन दूतावासमा आफ्नो चारवर्षे कार्यकाल पूरा गरि गतवर्ष नेपाल फर्किएका पूर्व राजदूत डा दुर्गाबहादुर सुवेदी जापानको लागि राजदूत सिफारिस भएका छन् ।

नेपाल सरकार मन्त्रिपरिषदको बिहीबारको बैठकले सुवेदीसहित विभिन्न २० मुलकका राजदूत नियुक्त गरेको हो ।

डा. सुवेदी सन् २०१६ सेप्टेम्बरमा बेलायतका लागि २० औं नेपाली राजदूतका रुपमा बेलायत आएका थिए ।

सुवेदी संयुक्त अधिराज्य (बेलायत) आयरल्याण्ड र माल्टाका लागि नेपाली राजदूतका रुपमा थिए । ७ फेब्रुअरी २०२१ का दिन स्वदेश फर्किएका सुवेदी पररास्ट्र मन्त्रालय अन्तरगत प्रमुख शिष्टाचार महापालको रुपमा काम गर्दै आएका थिए ।

आफ्नो कार्यकालमा कूटनैतिक र प्रशासनिक काम कारवाही  सफल रहेको भएपनि कोरोना महामारीका कारण पछिल्लो समयमा कतिपय काम अधुरा रहेको सुवेदीले बताएका थिए ।

सुवेदीको कार्यकालमा बेलायतको साहित्यिक क्षेत्र निकै उपलब्धिमूलक बनेको थियो । सुवेदीको संयोजन र सम्पादनमा छ वटा कृतिहरु ‘बेलायतमा नेपाली कवि र कविता’, ‘बेलायतमा नेपाली कथा’, ‘बेलायतमा नेपाली मुक्तक’ र ‘बेलायतमा नेपाली गजल’ ‘बेलायतमा नेपाली नाटक’ प्रकाशित भएका थिए ।

बि. सं २०२३ मा झापाको अर्जुनधारा नगरपालिका वडा नं. १ मा जन्मिएका सुवेदीले  बेलायतको लिड्स विश्वविद्यालयबाट अन्तराष्ट्रिय सम्बन्धमा एमए गरेका थिए ।

उनले त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासनमा एमपीए र त्रिविबाटै ‘आधुनिक नेपालको परराष्ट्रनीति र कूटनीति’ विषयमा विद्यावारिधि गरेका हुन् ।

सुवेदी परराष्ट्र सेवामा तीन दशक बढी समयदेखि छन् ।

सरकारले सिफारिस गरेका नामको संसदीय सुनुवाइ भएपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

सिफारिस गरिएका राजदूतको नामावली:

बिष्णुपुकार श्रेष्ठ-  चीन

बासुदेव मिश्र- श्रीलंका

दानबहादुर तामाङ- दक्षिण अफ्रिका

शर्मिला पराजुली ढकाल- स्पेन

मिलन तुलाधर- रूस

डिल्लीराज पौडेल- मलेसिया

शान्ता रिजाल -इजरायल

नवराज सुवेदी- साउदी अरब

घनश्याम भण्डारी- बंगलादेश

दुर्गाबहादुर सुवेदी -जापान

निर्मलराज काफ्ले- ब्राजिल

भरतकुमार रेग्मी- अष्ट्रिया

सुशीलकुमार लम्साल – इजिप्ट

कैलाश पोखरेल- अष्ट्रेलिया

डिल्लीराज पौडेल- कतार

ज्योति प्याकुरेल -दक्षिण कोरिया

रामसुरज राय यादव- डेनमार्क

डोरनाथ अर्याल-ओमान

हरिशचन्द्र घिमिरे-बहराइन

तिर्थराज वाग्ले-म्यानमार

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू