बालगृहको सहयोगार्थ लन्डन-पेरिस साइकलयात्रा गर्दै पाँच नेपाली युवा
लन्डन-बेलायतस्थित युवा नेपाली अभियन्ताहरुको एक समूहले लन्डन-पेरिस च्यारिटी साइकलयात्रा गर्ने भएको छ।
हेल्प नेपाल नेटवर्क यूके, नेपाली युथ एशोसिएसन यूके र वुल्लिच आर्सनल राइडर्स (वार) क्लबआबद्ध पाँच युवाले आगामी मे २० देखि २२ तारिखका लागि उक्त यात्रा तय गरेका छन्।
हेल्प नेपाल नेटवर्क यूकेका उपाध्यक्ष प्रसिद्ध प्रधान, नेपाली युथ एशोसिएसन यूकेका अध्यक्ष लछुमन गुरुङ, सुलभ पन्त, सुशील प्रसाईं र सुनिल कार्की च्यारिटी साइकलयात्रामा जांदैछन्। जसको अगुवाइ ‘प्रोफेसनल राइडर’ सुलभ पन्तले गर्दैछन्।
साइकलयात्रामा लन्डनदेखि पेरिससम्मको जम्मा २ सय ४५ माइलको दूरी पार गरिनेछ । मे २० तारिख बिहान लन्डन ब्रिजबाट शुभरम्भ हुने यात्रा मे २२ तारिख दिउंसो पेरिसको आइफेल टावरसम्म पुगेर समापन हुनेछ।
साइकल यात्रीहरुलाई लन्डन ब्रीजबाट वुल्लिच राइडर क्लबका तर्फबाट बिदाइ गरिने कार्यक्रम छ।
साइकलयात्रीहरुले दैनिक ६ देखि ८ घण्टासम्म साइकिलिङ गर्ने योजना बनाएको समूहका लिडर सुलभ पन्तले जानकारी दिए । जसका लागि अहिले सबै यात्रीले आवश्यक ट्रेनिङ गरिरहेको उनले बताए।
च्यारिटी साइकलयात्राबाट संकलित रकम हेल्प नेपाल नेटवर्कले काभ्रेको धुलिखेलमा सञ्चालन गरेको एक बालगृहलाई सहयोग गरिने हेल्प नेपाल नेटवर्क यूकेका ट्रस्टी प्रदिप पनेरुले बताए। सन् २०१४ देखि सञ्चालित उक्त गृहमा अहिले २३ जना असहाय बालिकाले आश्रय पाएका उनले सुनाए ।
साइकलयात्रीहरुले ५ हजार पाउन्ड (करिब ८ लाख रुपैँया) जुटाउने लक्ष्य लिएका छन् जसका लागि ‘जस्टगिभिङ’ मार्फत् सहयोग संकलन शुरु गरिसकिएको छ।
बालगृहको सहयोगका लागि गर्न लागिएको च्यारिटी साइकल यात्रामा स्वेच्छिक सहयोग गर्न र आफूहरुको हौसला बढाउन साइकलयात्रीहरुका तर्फबाट वुल्लिच आर्सनल राइडर्स (वार) क्लबका संयोजक ह्यारी गुरुङले बेलायतवासी नेपाली र संघसंस्थाहरुसँग आव्हान गरेका छन्।
साइकलयात्राबाट संकलन हुने पूरै रकम बाल गृहलाई प्रदान गरिने बताइएको छ । संकलित रकममा कुनै खर्च नकटाइने र साइकलयात्रीहरुले आफ्नो खर्च आफै व्यहोर्ने स्पष्ट पारेका छन्।
साइकलयात्रामा जाने तयारीमा रहेका नेपाली युथ एशोसिएसन यूकेका अध्यक्ष लछुमन गुरुङले जुन महिनामा पर्ने आफ्नो जन्मदिनको अवसरलाई बालगृहको सहयोगार्थ समर्पित गर्दै साइकलयात्रामा सहभागी हुन लागेको सुनाए।
उनले यस अभियानमा आफ्नो व्यक्तिगत तर्फबाट १ हजार पाउन्ड जुटाउने लक्ष्य राखेका छन्।