बिहीबार, माघ ३, २०८१
07:40 | १३:२५

बेलायतको कोभेन्ट्रीमा महावीर पुनसँग अन्तरक्रिया

नेपाली लिङ्क अप्रिल ६, २०२२

लन्डन– राष्ट्रिय आविष्कार केन्द्रका संयोजक महावीर पुनसँग बेलायतको कोभेन्ट्रीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय आविष्कार केन्द्रको उद्देश्य, योगदान र भावी योजनाबारे संयोजक पुनसंग उक्त अन्तरक्रिया भएको हो ।

मंगलबार कोभेन्ट्रीस्थित स्पिहिक्स हलमा सम्पन्न उक्त कार्यक्रममा संयोजक पुनले युवा जनशक्ति नेपालबाट विदेश पलायन भएको अवस्था औल्याउंदै दुःख व्यक्त गरे । साथै उनले राष्ट्रिय आविष्कार केन्द्रले युवा जनशक्तिलाई विदेशमा सिकेको ज्ञान र सीपसंगै नेपाल फर्किन उत्प्रेरित तथा नयाँ सोच विचार भएका युवालाई सहयोग गर्ने 
प्रतिवद्धता जनाए ।

कार्यक्रममा पुनले आफ्नो विगत स्मरण गर्दै आफ्नै गाउँ ठाउँलाई आवश्यक हुने साना साना प्रविधिको विकासक्रम सँगै समग्र राष्ट्र निर्माण हुने भएकाले आविष्कार केन्द्रले सोही क्षेत्रहरुमा लगानी गरिरहेको बताए ।

कोभेन्ट्री नेपाली समाज, बेलायतद्वारा आयोजित उक्त अन्तरक्रियामा समाजका अध्यक्ष सन्तोष पौडेलले राष्ट्रिय आविष्कार केन्द्र र नेपालमा प्रविधि क्षेत्रबारे प्रकाश पार्दै बेलायतबाट पनि सहयोग गर्न हातेमालोमा जोड दिए ।

कार्यक्रमका विशेष अतिथि प्राध्यापक डा. ओम कुर्मीले नेपालको प्राविधिक क्षेत्रको विकासका लागि महावीर पुनको विशेष योगदान रहेको बताए ।

गैर आवासीय नेपाली संघ बेलायतका सहकोषाध्यक्ष शशांक शर्माले गैर आवासीय नेपालीहरुले नेपालको प्रविधि विकास गर्न आर्थिक, प्राविधिक लगायत हरेक क्षेत्रबाट सहयोग गर्न सकिने उल्लेख गरे ।

लेखक तथा साहित्यकार भरतकुमार श्रेष्ठले पुनको योगदानले प्रवासमा रहेका नेपालीलाई आफ्नो देशमा लगानी गर्न उत्साहित बनाएको बताए ।

त्यसैगरि कार्यक्रममा समाजका संरक्षक विष्णुप्रसाद सापकोटा, समाजका सल्लाहकार सुवासचन्द्र अधिकारी, चन्द्रकान्त मैनाली, रमेश कँडेल, गोविन्द सापकोटा, बद्री बस्नेत, डा. टिकाराम भन्डारीले संयोजक पुनको योगदानबारे आफ्ना विचार राखेका थिए ।

प्रमुख अतिथि पुनले पानसमा दीप प्रज्वलन गरि नेपालको राष्ट्रिय गान सँगै सुरुवात गरिएको उक्त कार्यक्रममा समाजका महासचिव बाबुराम भुषालले स्वागत मन्तब्य दिएका थिए । कार्यक्रम सञ्चालन समाजका सदस्य प्रकाश आचार्यले गरेका थिए ।


नेपालका पहाडी विकट गाउं गाउंमा वायरलेस इन्टरनेट पुरयाउन सफल पुनले अन्तराष्ट्रिय स्तरको रोमन म्यागसेसे पुरस्कार प्राप्त गरे पछि उनको चर्चा झन चुलिंदै गएको थियो ।

पुनले ‘लङ रेन्ज’ मा कसरी इन्टरनेट पुरयाउने भन्ने प्रयोगमा विभिन्न प्रकारको एन्टेनाको मोडेल विकास गरेर उपलब्धि हाँसील गरेको अन्नपूर्ण क्षेत्रका पहाडी ठाउंहरुमा देख्न सकिन्छ ।

त्यसैगरि पछिल्लो समयमा उनले राष्ट्रिय आविष्कार केन्द्र मार्फत विभिन्न प्रविधिको आविष्कार र परिमार्जन गर्दै कोरोना भाइरस महामारीका बेला नेपालको स्वास्थ क्षेत्रमा पनि उत्तिकै योगदान गरेका थिए । –बाबुराम भुषाल

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू