बिहीबार, माघ ३, २०८१
10:50 | १६:३५

यूक्रेनमा आन्तरिकरूपमा ७१ लाखभन्दा बढी विस्थापित

रासस-एएफपी अप्रिल ५, २०२२

तस्विर एपी

जेनेभा, २२ चैत- रूसले यूक्रेनमा गरेको आक्रमणपछि जारी युद्धका कारण ७१ लाखभन्दा बढी यूक्रेनी आन्तरिक रुपमा विस्थापित भएको अनुमान गरिएको संयुक्त राष्ट्रसंघले जनाएको छ । उनीहरु आफ्नो घर छाडेर भागेको तर देशमै रहेको राष्ट्रसंघले मङ्गलबार जनाएको हो ।

संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय आप्रबासनसम्बन्धी संगठन (आइओएम) ले मार्च १६ मा जारी गरेको पहिलो अध्ययनमा अनुमानित ६४ लाख ८० हजार आन्तरिकरूपमा विस्थापित व्यक्ति रहेको बताइएको थियो ।

आईओएमका महानिर्देशक एन्टोनियो भिटोरिनोले भने, “युद्धका कारण मानिसहरू आफ्नो घर छोडेर भागिरहेका छन् र जमिनमा भएका मानवीय आवश्यकताहरू अझै बढिरहेको छ ।”
उनले थपे, “नागरिकहरूको सुरक्षित उद्धार गर्न र आन्तरिक विस्थापितहरूलाई छिटो–छिटो सहयोग गर्नको लागि अति आवश्यक मानवीय सहायताको सुरक्षित यातायात र वितरण सुनिश्चित गर्न मानवीय मार्ग तत्काल आवश्यक छन् ।”

रूसले फेब्रुअरी २४ मा यूक्रेनमा आक्रमण गरेपछि लाखौं मानिसहरू आफ्नो घर छोडेर भागेका छन् । ४२ लाख भन्दा बढी यूक्रेनी विदेश पलायन भएका तथ्यांक छ ।

आईओएमले मार्च २४ देखि अप्रिल १ बीच आफ्नो दोस्रो सर्वेक्षण गरेको थियो । शुक्रबारसम्म यूक्रेनभित्र ७१ लाख ३८ हजार ७१५ जना आन्तरिक रूपमा विस्थापित भएको अनुमान गरिएको छ । यसमध्ये ५९ प्रतिशत महिला रहेको अनुमान छ ।

झन्डै २४ लाख मानिसहरू किभ क्षेत्रबाट भागेको अनुमान गरिएको छ भने २४ लाख यूक्रेनको पूर्बी क्षेत्र र १७ लाख उत्तरी क्षेत्रबाट विस्थापित बनेका छन् ।

सर्वेक्षणले देखाएअनुसार ४१ प्रतिशत अर्थात् २.९ करोड आन्तरिक रूपमा विस्थापितहरू अहिले देशको पश्चिमी क्षेत्रमा रहेका छन् । ६० प्रतिशतभन्दा बढी विस्थापित परिवारहरूमा बालबालिका, ५७ प्रतिशत वृद्ध सदस्यहरू र ३० प्रतिशत दीर्घ रोगी रहेका अनुमान गरिएको छ । विस्थापित परिवारमध्ये एक तिहाइभन्दा बढीले गत महिनामा कुनै आम्दानी नभएको जनाएका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू