बिहीबार, माघ ३, २०८१
10:48 | १६:३३

श्रीलंकामा राजनीतिक संकट, सबै मन्त्रीद्वारा राजीनामा

रासस/एएनआई अप्रिल ४, २०२२

कोलम्बो, २१ चैत्र– श्रीलंकामा आर्थिक संकटसँगै राजनीतिक संकट बढ्दै गएपछि मन्त्रिपरिषद्का सबै सदस्यहरूले राजीनामा दिएका छन् ।

प्रधानमन्त्री महेन्दा राजापाक्षे बाहेक सबै मन्त्रीहरूले राजीनामा दिएको अधिकारीहरूले जनाएका छन् ।

देशमा आर्थिक संकट बढेपछि सरकारका विरुद्धमा आन्दोलन सुरु भएकाले सरकारले संकटकाल लागू गरेको छ । संकटकालसँगै राजनीतिक संकट बढ्न थालेपछि उनीहरूले राजनीतिक संकट न्यूनीकरण गर्न भन्दै राजीनामा दिएको बताएका छन् ।

मन्त्रिपरिषद्का २६ सदस्यले राजीनामा बुझाएको शिक्षामन्त्रीले पुष्टि गरेका छन् । उनका अनुसार मन्त्रीहरूले आइतबार नै प्रधानमन्त्रीलाई राजीनामा बुझाएका हुन् । राजीनामा दिनेमा प्रधानमन्त्रीका छोरा पनि रहेको उनले जानकारी दिए ।

विदेशी मुद्राको अभावका कारण इन्धनको आयातको भुक्तान गर्न नसकिएपछि मुलुकमा बहुपक्षीय संकट उत्पन्न भएको छ ।

अहिले दैनिक आधा समय लोडसेडिङ हुने गरेको छ भने खाद्यान्न, औषधि र इन्धनको अभावका कारण सर्वसाधारण आक्रोशित भएका छन् ।

आक्रोशित जनता खाद्यान्न र इन्धन अभाव हुनुमा सरकार दोषी रहेको भन्दै सरकार विरुद्ध आन्दोलनमा उत्रिएका छन् । आन्दोलन चर्किदै गएपछि सरकारले ३६ घण्टाको कफ्र्यु घोषणा गरेको छ ।

आन्दोलनकारीहरूले राष्ट्रपति गोटाबय राजापाक्षेको निवास घेराउ गर्न थालेपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो । झडपका कारण आन्दोलन अझ चर्किने देखेर सरकारले संकटकाल घोषण गर्दै कफ्र्यु आदेश जारी गरेको हो ।

कर्फ्युका कारण मानिसहरूलाई सार्वजनिक सडक, पार्क, रेल वा समुद्री तटमा लिखित अनुमतिबिना जानमा प्रतिबन्ध लगाइएको छ । त्यसैगरी केही समयका लागि भन्दै सामाजिक सञ्जाल पनि बन्द गराएको छ ।

नयां मन्त्रिमण्डलमा चार मन्त्रीले लिए सपथ

श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपाक्षले सोमबार चार मन्त्रीलाई नियुक्त गरेका छन् ।

उनीहरूले सोमबार नै पद तथा गोपनियताको शपथ लिएका छन् । राष्ट्रमा गम्भीर आर्थिक र राजनैतिक संकटको बीचमा पूरानो मन्त्रीमण्डलका सबै मन्त्रीहरूले आफ्नो राजीनामा दिएपछि आएको स्थितिलाई सम्हाल्दै नयाँ मन्त्रीमण्डल घोषणा गरेका हुन् ।

राष्ट्रपति कार्यालयका अधिकारीहरूका अनुसार पूर्व न्याय मन्त्री अली सबारीले अर्थमन्त्रीको रूपमा शपथ लिएका छन् भने जी.एल. पेइरिस विदेश मन्त्री, दिनेश गुनवर्देना शिक्षा मन्त्री र जोन्सटन फर्नान्डो राजमार्ग मन्त्रीको रूपमा सपथ लिएका छन् ।

अधिकारीहरूले यदि विपक्षी दलहरू एकताबद्ध सरकार गठन गर्न सहमत भएमा उनीहरूलाई पनि मन्त्रीमण्डलमा राखिने बताएका छन् ।

श्रीलंकाको आर्थिक संकट, दैनिक घण्टौं लामो लोडसेडिङ र इन्धन अभाव तथा अन्य अत्यावश्यक आपूर्तिलाई समाधान गर्न सरकारले तत्काल कदम चाल्न आह्वान गर्दै सार्वजनिक विरोध प्रदर्शन गरेको धेरै दिन भइसकेको छ ।

श्रीलंकाका नयाँ मन्त्रीहरूले आर्थिक अस्थिरता र दक्षिण एसियाली देशमा इन्धनको गम्भीर अभावबीच बढ्दो विरोधको आह्वानको जवाफमा आइतबार राति आफ्नो पदबाट राजीनामा दिने प्रस्ताव गरेका थिए । सोमबार राष्ट्रपति राजपाक्षले जारी संकटको समाधान खोज्न सरकारमा सहभागी हुन सबै राजनीतिक दललाई आग्रह गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू