बिहीबार, माघ ३, २०८१
11:11 | १६:५६

लन्डन पशुपतिनाथ मन्दिरमा सम्पन्न भयो सामूहिक व्रतवन्ध (तस्विरहरु)

नेपाली लिङ्क अप्रिल ३, २०२२


तस्विरहरु: गुणदेव घिमिरे
 

लन्डन- साउथ इष्ट लन्डनको प्लमस्टिडस्थित पशुपतिनाथ मन्दिरमा सामूहिक व्रतवन्ध गराइएको छ। मन्दिरमा आइतबार पहिलोपटक आयोजना गरिएको सामूहिक चुडाकर्मका अवसरमा बेलायतका विभिन्न क्षेत्रमा बस्ने ६ जना बालकको व्रतवन्ध सम्पन्न भएको मन्दिर व्यवस्थापन समिति अध्यक्ष दाशुराम पाण्डेले जानकारी दिए ।

सामूहिक व्रतवन्धको कार्यक्रम मन्दिरका पण्डितत्रय निलहरि घिमिरे, आनन्द लोहनी र विनोद पन्थीले सञ्चालन गरेका थिए । व्रतवन्ध गर्ने बालकहरुका आफन्त पनि मन्दिरमै आएर भिक्षा तथा आशीर्वाद प्रदान गरे ।  

व्रतवन्ध गर्ने बालकहरु १० देखि १५ वर्ष उमेरका छन्। मन्दिर आसपासका क्षेत्रदेखि क्रोइडन र रमफोर्डसम्मबाट पनि व्रतवन्धका लागि बालक आएका थिए ।

मन्दिर समितिका अध्यक्ष पाण्डेले पहिलोपटक आयोजना गरिएको सामूहिक व्रतवन्ध उत्साहजनक सहभागितासहित सफलतापूर्वक सम्पन्न भएकोमा खुशी व्यक्त गरे ।  बेलायतवासी नेपालीहरुमाझ व्रतवन्धको संस्कार झञ्झटिलो नबनोस् भन्ने उद्धेश्य राखेर मन्दिरले कार्यक्रमको पहल गरेको उनले बताए ।


पहिलोपटक आयोजित सामूहिक व्रतवन्ध कार्यक्रम सफल र प्रभावकारी भएको भन्दै मन्दिर समितिले आगामी वर्षमा पनि यसलाई निरन्तर राखिने जनाएको छ।

उता, व्रतवन्ध गर्ने बालकका अभिभावकहरु पनि मन्दिरले सामूहिक व्रतवन्ध गराएकोमा आभारी थिए । बेलायतजस्तो ठाउँमा कुनै झञ्झटबिना सबै विधि पुर्‍याएर व्रतवन्ध गराउने अवसर मिलेको भन्दै उनीहरुले खुशी व्यक्त गरे । 

व्रतवन्धका लागि आएका सबै बालक, अभिभावक तथा आफन्तका लागि मन्दिरले प्रसाद व्यवस्था गरेको थियो। 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू