बिहीबार, माघ ३, २०८१
10:57 | १६:४२

बेलायती परिवारले बुझाएको स्क्रोल बिजिडब्लूएसद्वारा ३ जीआरलाई हस्तान्तरण

प्रकाश गुरुङ अप्रिल ३, २०२२

लन्डन-२/३ गोर्खा राइफल्सका कमान्डिङ अफिसर कर्णेल श्रीकान्त यमडोष्करकी धर्मपत्नी श्रीमती पूजा चौधरीले फार्नबोरोस्थित ब्रिटिश गोर्खा भवन र अल्डरसटमा भएको पहिलो गोर्खा भीसी हवल्दार कुलबीर थापाको शालिक अवलोकन गरेकी छन्।

ब्रिटिश गोर्खा वेलफेयर सोसाईटी (बिजिडब्लूएस) को निमन्त्रणमा चौधरी पल्टनको ऐतिहासिक स्क्रोल ग्रहण गर्न गोर्खा भवनमा आएकी थिइन् ।

लगभग दश वर्ष पहिले एक ब्रिटिश परिवारले उक्त स्क्रोल घरको आटीमा फेला परेको र गोर्खाको खुकुरी ब्याज देखेपछि बिजिडब्लूएस गोर्खा भवनमा बुझाएका थिए ।

स्क्रोलको अगाडि भागमा ‘थर्ड क्वीन एलेक्जेन्ड्राज अउन गोर्खा राइफल्स’ को ब्याज र डेइर एल सिन, सिएटी, भियानो, फोन्टानेलाटो, स्वीजरल्यान्डसहितका ठाउँहरुको नाम लेखिएको छ। पछाडिको भागमा केहि सूचना लेखिएको छ । ग्रे र ममफर्ड परिवारले डिजाइन गरेको अनुमान गरिएको छ।

दोस्रो विश्व युद्धका बेला ले. कर्णेल ग्रे र क्या. ममफर्ड सहित उत्तर अफ्रिकामा जर्मन टैंकहरुले मिच्दै गएपछि २ सय जना गोर्खा सैनिकहरु युद्धबन्दी भएको ‘रेजिमेन्टल हिस्ट्री’ मा लेखिएको छ । 

बिजिडब्लुएसको बुझाइमा ३ जीआरका लागि उक्त स्क्रोल महत्वपूर्ण हुन सक्ने अध्यक्ष मेजर रिटायर्ड टिकेन्द्र दल देवान जेपीले आफ्नै ब्याजका रिटायर्ड कर्णल विक्रम सिंह वर्मा ३ जीआरलाई जानकारी गराए । कोभिडका कारण भेटघाट केहि बर्ष सम्भव भएन । सौभाग्यवस् 2/3 जीआरका कमान्डिङ अफिसरकी श्रीमती माष्टर्स गर्नका लागि ससेक्स युनिभर्सिटी, ब्राइटन एक बर्षको लागि आएको र झट्टै केहि हाप्ताका लागि इन्डिया फर्किदै गरेको खबर पाइयो। 

आफ्नो रेजिमेन्टको ऐतिहासिक वस्तु लिनका लागि श्रीमती चौधारी तुरुन्तै फार्नबोरो कार्यलयमा आइपुगिन्।

संस्थाका अध्यक्ष मे.(रि) देवान, श्रीमती मिलन देवन, कोषाध्यक्ष टेक बहादुर थापा, प्रवक्ता प्रकाश गुरुङ, सदस्यहरु रामधन राई, पर्शुराम बदगामी, चिजबहादुर गुरुङ, बीर बहादुर राई र कृष्ण राईको उपस्थितिमा उक्त स्क्रोल श्रीमती चौधरीलाई हस्तारन्तरण गरियो ।

केहि समयको गफगाफ पश्चात अल्डरस्थित भीसीको स्मारकमा पुगेर चौधरीले चासोपूर्वक मुर्तिको अवलोकन गरिन्। उनले पल्टन र आफ्नो तर्फबाट भीसीको शालिकमा खादा लगाइन्।

‘आफ्नै पल्टनको पहिलो भीसीको शालिक देख्न पाउँदा अति गौरवान्वित छु, राम्रो बनाइएको रहेछ। हाम्रो इतिहास जिवित राख्नुपर्छ’ उनले भनिन्, ‘हाम्रो सन्ततिलाई जानकारी राख्नको लागि शालिकले ठूलो भुमिका राख्दछ ।’ 

शालिक विशिष्ट रहेको भन्दै चौधरीले लडाईमा घाइते साथीलाई बोकिरहेको योद्धाको मर्म बुझ्न सकिने बताइन् ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू