बुधबार, मंसिर १२, २०८१
12:25 | १८:१०

पुटिनका कारण विश्वभर मूल्यवृद्धि – बाइडेन

रासस/एएनआई अप्रिल २, २०२२

अमेरिकी राष्ट्रपति जो बाइडेन । तस्बिर एपी

वासिङ्टन, १९ चैत– अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कारण विश्वभरि मूल्य वृद्धि भएको आरोप लगाएका छन् ।

रुसले युक्रेनमा आक्रमण गरेपछि तेल र ग्यासको मूल्य बढेपछि अन्य क्षेत्रमा पनि मूल्य वृद्धि भएको उनको भनाई छ ।

विश्वभरि अहिले मूल्य वृद्धि भएको र कतिपय देशमा उर्जा, खाद्यान्नलगायतको अभाव समेत भएको उल्लेख गर्दै बाइडेनले त्यसको दोषी पुटिन नै भएको दावी गरे ।

शुक्रबार उनले भने, “रुसले युक्रेनमाथि आक्रमण गरेको आज ३८ दिन भइसक्यो, आक्रमणको असर दिन प्रति दिन विश्वभरि फैलिँदै र थप गहिरो पर्दै गएको छ, रुसको आक्रमणले युक्रेनमा मात्र नभइ विश्वभरि नै हानी गरेको छ ।”

उनले मूल्यवृद्धि घटाउन पनि पुटिनले भूमिका खेल्नु पर्नेमा जोड दिदै मूल्य नघटेमा त्यसको दोषी पुटिन नै हुने टिप्पणी गरे ।

“यो मूल्यवृद्धि अझै कहाँसम्म पुग्ने हो अनुमान लगाउन नसकिने अवस्था छ,” सामाजिक सञ्जाल ट्विटरमा उनले लेखेका छन् ।

आफूले दिएको सुझाव र आग्रहलाई पुटिनले वेवास्ता गरेकाले विश्वभरलाई नै असर पर्ने काम भइरहेको भन्दै बाइडेनले चिन्ता समेत व्यक्त गरे ।

राष्ट्रपति बाइडनले तत्काल युद्ध रोक्न र वार्ता मार्फत विवाद अन्त्य गर्न पटक पटक आग्रह गर्दै आएको पनि स्मरण गराएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू