बिहीबार, माघ ३, २०८१
10:39 | १६:२४

नयाँ वर्षमा युक्रेनका युद्धपीडितलाई सहयोग जुटाउंदै बेलायतका नेपाली

नेपाली लिङ्क मार्च २९, २०२२

लन्डन-युक्रेनमा जारी युद्धबाट प्रभावित युद्धपीडितहरुको सहयोगार्थ बेलायतस्थित दुई नेपाली संस्थाले एक च्यारिटी कार्यक्रम गर्ने भएका छन् ।  

नेप्लिज ब्रिटिश कम्युनिटी (एनबिसी) यूके र कोडेक यूकेले नेपाली नयाँ वर्षको अवसर पारेर आगामी अप्रिल १० तारिख फन्ड रेइजिङ कार्यक्रम गर्ने भएका हुन् ।

मंगलबार बेलुका आयोजकले एक प्रेस मिट गरी साउथ ह्यारोस्थित ह्यारो बरो फुटबल क्लब हलमा कार्यक्रम आयोजना हुने जानकारी दिए । त्यसअवसरमा फन्ड रेइजिङका लागि विविध गतिविधिहरुसहित मनोरञ्जनात्मक कार्यक्रमहरु पनि प्रस्तुत गरिने बताइएको छ।  

प्रेस मिटमा आयोजक एनबिसी यूकेका अध्यक्ष राजेन्द्र ओझाले च्यारिटी कार्यक्रमबाट संकलित रकम बेलायत सरकारको ‘डिजास्टर रिलिफ फन्ड’ मार्फत् युक्रेनका युद्धपीडितसम्म पुर्‍याइने बताए। आफूहरुद्वारा संकलित रकमलाई बेलायत सरकारका तर्फबाट दोब्बर पारेर युक्रेन पठाइने उनले जानकारी गराए ।

कोडेक यूकेका अध्यक्ष अरुण चालिसेले  सस्तो लोकप्रियताका लागि नभइ आफ्नो स्तरबाट सम्भव हुने सहयोग जुटाउन कोशिश् गरिएको सुनाए ।   

सो अवसरमा एनबिसी यूकेका सचिव रविन्द्र अधिकारीले कार्यक्रमको उद्धेश्यमाथि प्रकाश पार्दै प्रेस वक्तव्य वाचन गरेर सुनाएका थिए ।  

कोडेक यूकेकी सेक्रेटरी प्रतिमा दाहालले स्वागत मन्तव्य दिंदै नयाँ वर्षको बेला मनोरञ्जन मात्र नभइ परोपकार समेत गर्ने उद्धेश्यले कार्यक्रम गर्न लागिएको बताइन् । त्यस्तै, कोडेक यूकेकी कोषाध्यक्ष ज्योति घिमिरेले अनलाइनबाट कसरी टिकट लिने र सहयोग गर्ने भनेर देखाएकी थिइन् । 

आयोजकले युद्धका कारण मानवीय सहायताको आवश्यकतामा परेका मनिसहरुको सहयोगका लागि हुन लागेको च्यारिटीमा बेलायतवासी सम्पूर्ण नेपालीहरुको सहभागिता र सहयोग रहने आशा व्यक्त गरेका छन्।  

कार्यक्रममा सहभागी हुने वयस्कहरुबाट २० पाउन्ड र बालबालिकाबाट १५ पाउन्ड सहयोग शुल्क उठाइने आयोजकले जानकारी दिए । कार्यक्रमको टिकट अनलाइन वा आयोजकलाई सम्पर्क गरी प्रत्यक्ष रुपमा पनि लिन सकिनेछ ।

कार्यक्रमा कोष संकलनका लागि बिंगो, क्वीज लगायत खेलहरु खेलाउने योजना बनाइएको आयोजकले बताएका छन् । साथै, प्रायोजक तथा सहयोगदाताहरुको नामावली पनि कार्यक्रमस्थलमा देखाइनेछ ।  

प्रेस मिटमा पत्रकारहरुले राखेका जिज्ञासामा आयोजक संस्थाका पदाधिकारीहरुले जवाफ दिएका थिए । पत्रकार जगन कार्कीले सञ्चालन गरेको कार्यक्रममा पत्रकार महासंघ यूकेका अध्यक्ष ध्रुवराज अर्याल, पूर्व अध्यक्ष चिरन शर्मा, उपाध्यक्ष शिव भण्डारी, एभरेष्ट गौतम लगायत बेलायतस्थित नेपाली पत्रकार एवम् सञ्चारकर्मीहरुको सगभागिता थियो।  

त्यस अवसरमा एनबिसी यूकेका पूर्व अध्यक्ष मिलन घिमिरे, सल्लाहकार समीरनाथ प्याकुरेल, चुडामणि रेग्मीसहित आयोजक दुवै संस्थाका पदाधिकारी र सल्लाहकारहरु लगायतले कार्यक्रम सफल पार्न संयुक्त अपिल गरेका थिए । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू