आइतबार, मंसिर ९, २०८१
05:57
|
११:४२
टी–२० सिरिज: नेपालको विजयी सुरुआत
रासस
मार्च २८, २०२२
काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत पहिलो खेलमा नेपालले पपुवा न्यूगिनीलाई पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले पपुवा न्यूगिनीलाई १५ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको हो ।
नेपालले दिएको १८४ रनको लक्ष्य पछ्याएको पपुवा न्यूगिनी १९ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै १६८ रनमा समेटियो । पपुवा न्यूगिनीका लागि नोरमान भानुले सर्वाधिक ५२ रनको योगदान दिए । उनले २९ बल खेल्दै ४ छक्का र ५ चौका प्रहार गरे ।
यस्तै सेसे बाउले ३०, चाल्र्स अमिनीले २२, लेगा सिएकाले २१, चाड सोपरले १३, कप्तान असद भालाले ७, टोनी उराले ५, तथा रिले हेकुरे ३ रन बनाए । बलिङतर्फ नेपालका लागि करण केसी र सन्दीप लामिछानेले तीन तीन, अविनाश बोहराले दुई र सोमपाल कामीले एक विकेट हात लिए । यसअघि टस हारेर पहिला ब्याटिङ गर्दै नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १८३ रन बनायो । नेपालका लागि आसिफ शेखले सर्वाधिक ४३ रन बनाए ।
यस्तै रोहित पौडेलले ३४, आरिफ शेखले ३१, कुशल भूर्तेलले २०, करण केसीले १९, कुशल मल्लले ११, लोकेस बमले ५, दीपेन्द्रसिंह ऐरीले ४ तथा सोमपाल कामी र सन्दिप लामिछानेले एक एक रन बनाए । बलिङतर्फ पवुवा न्यूगिनीका चाल्र्स अमिनी, अलेइ नाओ र चाड सोपरले दुई दुई तथा नोरमान भानु र रिले हेकुरेले एक एक विकेट लिए । जीतसँगै नेपालले २ अङ्क जोडेको छ ।
नेपाल, पपुवा न्युगिनी र मलेसिया सम्मिलित सिरिजमा अब नेपालले दोस्रो खेल बुधबार मलेसियासँग खेल्नेछ । मङ्गलबार पपुवा न्यूगिनी र मलेसियाबीच खेल हुनेछ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५