बुधबार, मंसिर १२, २०८१
14:27
|
२०:१२
श्रीलङ्कालाई चीनले दियो दुई हजार टन चामल
रासस/सिन्ह्वा
मार्च २६, २०२२
कोलम्बो, १२ चैत– चीनले गम्भीर आर्थिक सङ्कटमा परेको श्रीलङ्कालाई आपतकालीन सहयोग स्वरुप दुई हजार टन चामल उपलब्ध गराएको छ ।
कोलम्बोस्थित चिनियाँ दूतावासले शुक्रबार वक्तव्य जारी गर्दै छिमेकी मुलुकको आधारभूत जिम्मेबारी स्वरुप दुई हजार टन चामल उपलब्ध गराइएको जनाएको हो ।
चीनले श्रीलङ्कालाई उपलब्ध गराएको चामलको मूल्य झण्डै २५ लाख अमेरिकी डलर पर्ने पनि वक्तव्यमा उल्लेख छ । मुलुकमा आर्थिक संकट उत्पन्न भएपछि विद्यार्थीको परीक्षाका लागि कागज किन्न समेत नसकेको श्रीलङ्काले सहयोगका लागि सबैलाई अनुरोध गरेको थियो ।
श्रीलङ्काको आग्रहकै आधारमा सहयोग उपलब्ध गराइएको पनि चिनियाँ दूतावासद्वारा जारी वक्तव्यमा लेखिएको छ ।
कोरोनाभाइरस महामारी र त्यसपछिको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विभिन्न परिस्थितिका कारण श्रीलङ्का सङ्कटमा परेको श्रीलङ्काली अधिकारीहरूले दावी गरेका छन् । चीन र श्रीलङ्काबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६५औँ वार्षिकोत्सव चलिरहेकाले दुई देशको सम्बन्ध निकै पुरानो भएकाले पनि चीनले सहयोग गर्ने दूतावासको भनाई छ ।
चीनले श्रीलङ्कालाई आफ्नो क्षमता अनुसार आर्थिक तथा सामाजिक विकासका लागि अन्य सहयोग पनि निरन्तर गर्ने जनाएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ