गाँजालाई औषधिका रुपमा प्रयोग गर्न अनुसन्धानको तयारी


काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गाँजाको औषधीय प्रयोजनका लागि अनुसन्धान गर्न स्वीकृति दिने तयारी गरेको छ । लामो समयदेखि यस विषयमा संसद्मा र संसद् बाहिर वकालत गर्दै आएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाको निर्देशनमा सम्पन्न बैठकले उक्त निर्णय गरेको हो ।
स्वास्थ्य मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकले राष्ट्रिय विकास समस्या समाधानमा यो एजेन्डा अघि बढाउने निर्णय गरेको हो ।
समितिको बैठकको निर्णयमा गाँजाको नमुना संकलन गर्न कानूनी बाधा परेको भन्दै औषधीय प्रयोगका लागि अनुसन्धान गर्न कानूनी व्यवस्था तयार गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री खतिवडाका प्रेस सल्लाहकार शान्तराम बिडारीले जानकारी दिए ।
मन्त्री खतिवडाद्वारा बुधबार प्रमाणित निर्णयमा भनिएको छ, “गाँजाको औषधीय गुण तथा विषाक्तताको अनुसन्धान कार्यका लागि नमुना संकलन गर्न कानूनी बाधा परेको औषधीय प्रयोगका लागि अनुसन्धान गर्न कानूनी व्यवस्था तयार गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने ।”
गाँजा खुला गर्ने विषयमा संसद्मा विधेयक प्रस्तुत गर्नका लागि मस्यौदा तयार भइसकेको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५