गोर्खाका समस्याबारे ग्रेटर रश्मोर नेपाली कम्युनिटी र बेलायती सांसदबीच छलफल
लन्डन । ग्रेटर रश्मोर नेपाली कम्युनिटी (जीआरएनसी) का पदाधिकारीहरुले स्थानीय बेलायती सांसद लियो डोकेर्टीलाई भेटेका छन्।
गत साता सम्पन्न भेटमा जीआरएनसी प्रतिनिधि र सांसद डोकेर्टीबीच भूतपूर्व गोर्खाका विभिन्न समस्याहरुकै विषयमा छलफल भएको संस्थाका अध्यक्ष मान गुरुङले जानकारी दिए । सांसद डोकेर्टी हाल बेलायती रक्षा मन्त्रालयअन्तर्गत भेट्रान मिनिस्टर पनि छन् ।
उनका अनुसार जीआरएनसीका तर्फबाट स्थानीय गोर्खा समुदायका समस्याहरुबारे सांसद डोकेर्टीलाई जानकारी गराइएको थियो । गोर्खाका समस्याहरुबारे जानकारी लिइसकेपछि सांसद डोकेर्टीले आवश्यक समाधानको लागि सक्दो पहल गर्ने आश्वासन दिएका थिए ।
सांसदसंगको छलफल जीआरएनसीका तर्फबाट क्याप्टेन ग्यारी घलेले संयोजन गरेका थिए । सो अवसरमा कम्युनिटीका अध्यक्ष गुरुङ, सचिव डा विशाल गुरुङ, प्रवक्ता सुशिल थापा मगर तथा काउन्सिलरद्वय जीव बेल्वासे र नेम थापा पनि सहभागी थिए । त्यस्तै, सांसद डोकेर्टीसंगै काउन्सिलर कालमको पनि सहभागिता थियो।
जीआरएनसी र सांसद डोकेर्टीबीच आगामी दिनमा पनि नियमित रुपमा स्थानीय नेपाली समुदायका समस्याहरुबारे छलफल गर्ने सहमति भएको छ। जसअनुसार तीन महिनापछि अर्को बैठक बस्ने भएको छ।