शुक्रबार, माघ ४, २०८१
19:48 | ०१:३३

युक्रेनमा रुसको हवाई, जमिन र समुद्रबाट आक्रमण

रासस/एएफपी मार्च ७, २०२२

जारी लडाइँमा सयौं सर्वसाधारण मारिएका र हजारौं घाइते भएका छन् । तस्बिर- एएफपी

किभ २३ फागुन– रुसी सेनाले सोमबार युक्रेनी सहरहरूलाई हवाइ, जमिन र समुद्रबाट आक्रमण गरेका छन् । उनीहरूले राजधानी किभमा आक्रमणको तयारी गरिरहेको चेतावनी दिएका छन् । यसबाट आतंकित नागरिकहरू घेरामा परेको मारियुपोलमा फंसेका छन् ।

निरन्तर जारी रहेको आक्रमणका कारण युक्रेनको सिमानामा १५ लाख भन्दा बढी मानिस शरणार्थीका रूपमा बाहिएका छन् । यद्यपि, अरु धेरै आन्तरिक रूपमा विस्थापित भएका छन् वा रुसी बमबारीले भग्नावशेषमा परेका शहरहरूमा फंसेका छन् । उता मस्कोलाई दण्डित गर्ने उद्देश्यले रुसलाई अन्तर्राष्ट्रिय प्रतिबन्धहरू लगाइएका भए पनि आक्रमणलाई कम गर्न भने सहयोग पुगेको छैन । वासिङ्टनले अब युरोपसँग रूसी तेल आयातमा प्रतिबन्ध लगाउने बारेमा छलफल गरिरहेको बताएको छ ।

टोकियो र हङकङका बजारहरू ओरालो लागेको यस अवस्थामा ब्रेन्ट कच्चा तेलको मूल्य १४ वर्षकै उच्च बिन्दुमा पुगेको छ । राजधानी किभलगायत देशभरका शहरहरूमा साइरन बज्ने र खार्किभ शहरमा तीव्र हवाई बमबारी जारी छ । यस शहरहरुमा हालैका दिनमा लगभग निरन्तर आगो लागिरहेको देखिन्छ ।

युक्रेनको सशस्त्र बलका जनरल स्टाफले एक विज्ञप्तिमा भनेका छन् ‘दुश्मनले युक्रेन विरुद्धको आक्रामक कारबाही जारी राखेको छ । किभ, खार्किभ, चेर्निहाइभ, सुमी र माइकोलायभको घेराबन्द गरिएको छ ।’

रूसले देशको दक्षिणमा पर्ने ओडेसा क्षेत्रको तुज्ली गाउँमा समुद्रबाट गोलाबारी गरेको, क्षेत्रीय सैन्य अधिकारीहरूले जानकारी दिएका छन् । महत्वपूर्ण पूर्वाधार साइटहरूलाई निशाना बनाएको तर मानवीय हताहत भने नभएको जनाइएको छ ।

रुसको इन्टरफ्याक्सले रुस समर्थक पृथकतावादी विद्रोहीहरूले कब्जा गरेको सहर लुगान्स्कमा सोमबार बिहान एउटा इन्धन डिपोमा ठूलो विस्फोट भएको जनाएको छ । युक्रेनको खार्किभ एक विश्वविद्यालय र अपार्टमेन्ट ब्लकमा रुसतर्फबाट भएको आक्रमणमा भवनहरु ध्वस्त हुनुको साथै कयौं व्यक्तिको ज्यान गएको छ ।

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बढ्दो विनाश र मृत्युको संख्याको बिरूद्ध आक्रोश व्यक्त गर्दै रसियाली सेनालाई एक सम्बोधनमा जानाजानी गरेको हत्या भनेका छन् । ‘हामी माफ गर्दैनौं, भुल्ने छैनौं, हामी हाम्रो भूमिमा यो युद्धमा अत्याचार गर्ने सबैलाई सजाय दिनेछौं,’ उनले भनेका छन् । उनले यो पृथ्वीमा चिहान बाहेक कुनै शान्त ठाउँ हुने छैन पनि भनेका छन् ।

यहाँ जारी रहेको करिब १२ दिनको लडाइँमा सयौं सर्वसाधारण मारिएका र हजारौं घाइते भएका छन् । संयुक्त राष्ट्रसंघले दोस्रो विश्वयुद्धपछि युरोपको सबैभन्दा द्रुत रूपमा बढ्दो शरणार्थी संकट देखिएको जनाएको छ । युक्रेन र यसका छिमेकी देशहरूमा धेरैजसो महिला र बालबालिका छन् र उनीहरु शरणार्थीका रुपमा अझबढी संकटमा परेका छन् ।

दुवै पक्षले एकअर्कालाई युद्धविराम सम्झौता उल्लङ्घन गरेको आरोप लगाएका छन् । मानव पीडाको विनाशकारी दृश्यहहरु देखिएको छ । सहर छोड्ने एक परिवारले गर्मी वा बिजुली बिना एक हप्ता बिताएको र खाना र पानीको अभाव भएको वर्णन गरेका छन् । ‘सडकमा हामीले जताततै शवहरु देख्यौं, रुसी र युक्रेनीहरूलाई हामीले गाडिएको अवस्थामा पनि देख्यौं’ एक परिवारले बताएका छन् ।

किभ बाहिरको एउटा सानो सहर इरपिनका मेयरले दुई वयस्क र दुई बालबालिकालाई आफ्नो आँखै अगाडि गोली प्रहार गरेर हत्या गरेको आफूले देखेको बताएका छन् । यो निर्दयीता हो र तिनीहरू राक्षस हुन् भनेर धेरैले रुसी सेनालाई गाली गरिरहेका छन् ।

पश्चिमा सहयोगीहरूले रुसी अर्थतन्त्रलाई दबाउन र मस्कोलाई आक्रमण रोक्न दबाब दिन व्यवसाय, बैंक र अर्बपतिहरू विरुद्ध अभूतपूर्व प्रतिबन्ध लगाएका छन् । तर रुसी नेता भ्लादिमिर पुटिनले विश्वव्यापी प्रतिबन्धलाई युद्धको घोषणासँग तुलना गरेका छन् । किभले युक्रेनी राज्यको भविष्यमाथि प्रश्न खडा गरिरहेको छ ।

रुसमा पनि युक्रेन आक्रमणको विरूद्ध विरोध प्रदर्शन जारी छ । असहमति व्यक्त गर्नेहरुलाई कठोर सजाय बावजुद जारी प्रदर्शनको क्रममा १० हजार भन्दा बढी मानिसलाई गिरफ्तार गरिएको छ ।

युक्रेनी राजधानी किभमा सेनाहरु अपेक्षित रुसी आक्रमणको लागि तयारी गरिरहेका छन् । रुसी सेना अगाडि बढ्ने बाटोमा विस्फोटकहरू रोप्ने काम गरिरहेका छन् । रुसी सेनाले बाटो पार गर्ने प्रयास गरे भने युक्रेनीहरूले पुललाई उडाउँनेछन् । किभले पश्चिमलाई आफ्नो सैन्य सहयोग बढाउन आग्रह गरेको छ । मस्कोले युक्रेनका छिमेकीहरूलाई पनि सशस्त्र द्वन्द्वमा संलग्न हुन सक्ने भन्दै किभको सैन्य विमान होस्ट नगर्न चेतावनी दिएको छ ।

पश्चिमी सहयोगीहरुले किभलाई बलियो बनाउन युक्रेनमा हतियार, गोलाबारुद र कोषहरू खन्याएका छन् । युरोपको सबैभन्दा ठूलो जापोरिझिया आणविक उर्जा केन्द्रमा शुक्रबार रुसले गरेको आक्रमणपछि युक्रेनको आणविक स्थलहरूको सुरक्षाको बारेमा पनि निरन्तर चिन्ता भइरहेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू