बिहीबार, माघ ३, २०८१
16:59 | २२:४४

अनुराधा कोइरालाको उपस्थितिमा ग्रेटर रश्मोर नेपाली कम्युनिटीले मनायो नारी दिवस

संकलित रकम च्यारिटीमा मार्च ७, २०२२

लन्डन–ग्रेटर रश्मोर नेपाली कम्युनिटीले शनिबार एक कार्यक्रम आयोजना गरी अन्तरराष्ट्रिय नारी दिवस मनाएको छ । सिएनएन हिरोबाट सम्मानित माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाको प्रमुख आतिथ्यमा शनिबार प्रत्यक्ष एवम् भर्चुअल दुवै माध्यमबाट कार्यक्रम गरिएको थियो ।  

कार्यक्रमबाट संकलित रकम कम्युनिटीले मानव बेचबिखन, घरेलु हिंसा, एकल महिला, घरबारबिहिन जस्ता पीडितलाई संरक्षण गर्दै माइती नेपालका साथै बेलायतको रश्मोर क्षेत्रमा पनि परोपकारी कार्यमा सहयोग गरिने जनाएको छ ।  

कम्युनिटीका अध्यक्ष मान गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई अध्यक्ष गुरुङ, रश्मोर बरोका मेयर ब्रुस थोमस, मेयरेस र संयोजक सुष्मा गुरुङले पानसमा बत्ति बालेर उद्घाटन गरेका थिए ।

प्रमुख अतिथि कोइराला, विशेष अतिथिहरु लन्डन दूतावासकी उपनियोग प्रमुख रोशन खनाल र रश्मोर बरोका मेयर ब्रुस थोमस, काउन्सिलरहरु अबुल चौधरी, जीव बेल्वासे र नेम थापा, एसियन महिला एशोसिएसनकी अध्यक्ष विभा गुरुङ लगायतले सम्बोधन गरेका थिए ।

प्रमुख अतिथि कोइरालाले चेलीबेटी बेचविखनविरुद्ध माइती नेपालले गर्दै आएको अभियानहरु र सामना गर्दै आएका चुनौतीबारे सुनाएकी थिइन् । 


त्यस अवसरमा तमुधिं यूके अध्यक्ष हित काजी गुरुङ, किरात राई यायोक्खा यूकेका अध्यक्ष चन्द्र राई, पत्रकार महासंघ यूकेका अध्यक्ष ध्रुवराज अर्याल, गोर्खा जिल्ला गुरुङ समाज यूकेका उपध्यक्ष मिनकुमार गुरुङ, गोर्खाली समाज यूकेका अध्यक्ष कर्ण दर्लामी मगर, मगर संघ यूके रश्मोर शाखा अध्यक्ष हेमा रानासहित  विभिन्न संघसंस्थाका प्रतिनिधि र महिला अभियन्ताहरुको पनि उपस्थिति थियो ।  

कार्यक्रम सञ्चालन संस्थाका सचिव डा विशाल गुरुङले गरेका थिए ।  

ग्रेटर रश्मोर नेपाली कम्युनिटीले आगामी अप्रिल १७ तारिख एक कार्यक्रमबीच नेपाली नयाँ वर्ष पनि मनाउने भएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू