बिहीबार, माघ ३, २०८१
17:05 | २२:५०

एनआरएनए यूकेले केन्द्रमा सदस्यता शुल्क पठाउंछः कोषाध्यक्ष खरेल

नेपाली लिङ्क मार्च ५, २०२२

लन्डन । गैर आवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) का कोषाध्यक्ष विष्णु खरेलले केन्द्रलाई पञ्जिकृत सदस्यता शुल्क समयसीमा (६ मार्च) भित्रै बुझाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

पञ्जिकृत सदस्यहरुले तिरेको शुल्क विधानतः केन्द्रलाई बुझाउनुपर्नेमा एनआरएनए यूके अध्यक्षले केही व्यक्तिको स्वार्थपूर्तिका लागि ‘होल्ड’ गरिदिएपछि व्यापक असन्तुष्टि बढिरहंदा कोषाध्यक्षको धारणा आएको हो ।

‘मलाई कयौं सदस्यहरुले फोन र म्यासेज लेखेर निकै चासो व्यक्त गर्नुभएको छ । तपाईंहरुको पैसा सुरक्षित छ । हामी समयमै केन्द्रमा बुझाएर मतदान र उम्मेदवार हुने अधिकारबाट वञ्चित गर्दैनौं’, खरेलले प्रष्टयाए ।

कोषाध्यक्ष खरेलले कार्यसमितिका वहुमत सदस्य केन्द्रलाई शुल्क बुझाउनुपर्ने पक्षमा रहेको जनाउंदै अध्यक्षले ‘होल्ड’ गर्नु उनको आफ्नो एकल व्यक्तिगत निर्णय भएको दावी गरे ।

‘हामी विकसित र सभ्य देशमा बस्ने नागरिकले उदाहरणीय काम गरेर देखाउनुपर्नेमा उल्टै अरुबाट उठाएको सदस्यता शुल्क तिर्दिन भन्नु गैर कानूनी र निन्दनीय कार्य हो । यही कारण हाम्रो कार्यसमिति भंग हुनेमात्र होइन्, विश्वभरका नेपाली समुदायमाझ हामी नांगिने चिन्ता बढेको छ’, खरेलले भने, ‘अहिले म आफैं लज्जित भइरहेको छु, व्यक्तिगत स्वार्थ, नकारात्मक सोच र पदीय लोलुपतामा साथीहरु कतिसम्म गिर्ने रहेछन् छर्लंग देखियो ।’

एनआरएनए यूकेले गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदलाई बुझाउनुपर्ने ११ हजार ३ सय ६३ जना सदस्यको ५ डलरका दरले ५६ हजार ८ सय १५ डलर अहिलेसम्म नपठाएपछि संघ खारेजीको चरणमा छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको ८२ औं बैठकले पञ्जिकृत सदस्यता शुल्क नतिर्ने एनसीसी यूके, अमेरिका, अष्ट्रेलिया, जापान र क्यानाडालाई मार्च ६ तारिखसम्म शुल्क भुक्तानी गर्न अवसर दिइ उक्त मितिभित्र शुल्क भुक्तानी नगरे विधानको दफा १७.७ अनुसार उल्लेखित एनसीसीहरुको मान्यता स्वतः समाप्त हुने चेतावनी दिइसकेको छ ।

केन्द्रले एनसीसीको नयां निर्वाचन गर्न एक तदर्थ समिति गठन र संघका अध्यक्ष, महासचिव, क्षेत्रीय संयोजक, सहसंयोजक र क्षेत्रीय महिला संयोजक रहेको एक समितिले तदर्थ समितिको गठनबारे निर्णय गर्ने स्पष्ट पारिसकेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू