शुक्रबार, माघ ४, २०८१
19:49 | ०१:३४

पाकिस्तानको मस्जिद विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ५६ पुग्यो

रासस/सिन्ह्वा मार्च ४, २०२२

घाइतेलाई अपचारका लागि अस्पताल लगिंदै । तस्बिर- एएफपी

इस्लामावाद, २० फागुन–पाकिस्तानको उत्तर पश्चिमी पेशावर शहर खैबर पख्तुनख्वा प्रान्तको एक मस्जिदमा शुक्रबार भएको शक्तिशाली विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या ५६ पुगेको अधिकारीहरूलाई उद्धृत गरी एजेन्सी फ्रान्स प्रेस (एएफपी) ले उल्लेख गरेको छ ।

आक्रमणमा घाइते भएका अधिकांशलाई पेशावरस्थित लेडी रिडिङ अस्पतालमा ल्याइएको र उनीहरूको उपचार भइरहेको अस्पतालका प्रवक्ता मुहम्मद असिमले सिन्ह्वालाई बताए ।

गम्भीर रूपमा घाइते रहेका २० जनाको मृत्यु भएपछि मृतक सङ्ख्या ५० भन्दा बढी पुगेको बताइएको छ । अन्य करिब २०० जना घाइते भएका र ५० देखि ६० जनालाई गहिरो खालको चोट लागेको र उनीहरूको अस्पतालमा उपचार भइरहेको उनले बताए । थप १० देखि १५ जनाको अवस्था गम्भीर रहेको पनि उनले बताए । घाइतेको उपचारका लागि आकस्मिक अवस्था घोषणा गरिएको र थप चिकित्सकलाई अस्पताल बोलाइएको छ ।

पेशावरका प्रहरी परिचालन प्रमुख वरिष्ठ सुपरिटेन्डेन्ट हरुन राशेदले दुई जना आतंककारी मस्जिदमा प्रवेश गर्न खोजेको र त्यहाँ ड्युटीमा रहेका प्रहरी कर्मचारीसँग भएको तनावपछि आत्मघाती आक्रमण गरेको सिन्ह्वासँग बताए ।

घटनामा एक प्रहरीको मृत्यु भएको र एक जना गम्भीर घाइते भएको बताइएको छ ।

प्रारम्भिक अनुसन्धानपछि अधिकारीले यो सर्वसाधारणलाई लक्षित गरी गराएको आत्मघाती बम विस्फोट भएको बताएका छन् ।

प्रत्यक्षदर्शी मश्ताक खानले सिन्ह्वालाई प्रार्थनाको समयमा विस्फोट भएको र मस्जिदको दुई तले भवनमा ठूलो सङ्ख्यामा उपासकहरू उपस्थित भएको बताए ।

उनले भने ‘ठूलो विस्फोटपछि कतिपय मृत शरीरबाट उछिट्टिएका शरीरका भागहरू देखिएका थिए भने आक्रमणबाट घाइते भएका मानिसहरु सहयोगको लागि रोइ कराइ गरिरहेका देखिएको थियो । यो मैले आफ्नो जीवनमा देखेको सबैभन्दा ठूलो विस्फोट थियो ।’

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू