बिहीबार, माघ ३, २०८१
16:57 | २२:४२

राजदूतलाई गोर्खा सत्याग्रहको सम्मान, त्रिपक्षीय वार्ता छिट्टै शुरु हुने

नेपाली लिङ्क मार्च २, २०२२


लन्डन । भूतपूर्व ब्रिटिश गोर्खा समस्या समाधानका लागि बेलायत र नेपाल सरकार तथा गोर्खा प्रतिनिधिहरुबीचको त्रिपक्षीय वार्ता छिट्टै शुरु हुने भएको छ ।

बेलायतका लागि नवनियुक्त नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले सो जानकारी दिएका हुन् ।

‘हामी बेलायत सरकारसंग सम्पर्कमा छौं । वार्ता समितिलाई नेपालको मन्त्रिपरिषदबाट पारित गरेपछि त्रिपक्षीय वार्ता प्रक्रिया अगाडि बढ्छ’, राजदूत आचार्यले मंगलबार भने, ‘मिति ठ्याक्कै भन्न त अहिले अप्ठेरो छ । तर, अब गोर्खा समस्याको दीर्घकालिन समाधान आवश्यक भएकाले म त्यसतर्फ बढी क्रियाशील छु । वार्ताबाटै सबै समस्या निराकरण गर्न हाम्रो ध्यान केन्द्रित हुनेछ ।’

राजदूत आचार्य गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले आफ्नो सम्मानमा लन्डनमा गरेको एक कार्यक्रममा बोल्दै थिए ।

उनले त्रिपक्षीय वार्ता सफल बनाउन सबैको योगदान आवश्यक हुने पनि औंल्याए । गत बुधबार लन्डनस्थित नेपाली दूतावासमा पदबहाली गरेका आचार्यलाई नेपाल सरकारले वार्ताको नेतृत्व गर्न जिम्मेवारी सुम्पेको छ ।

कार्यक्रममा आफ्ना केही प्राथमिकता उल्लेख गर्दै राजदूत आचार्यले नेपाल र संयुक्त अधिराज्यबीचको द्विपक्षीय, कूटनीतिक राजनीतिक, आर्थिक, सांस्कृतिक, व्यापारिक, शैक्षिक सम्बन्ध अझ सुदृढ र परिणाममुखी बनाउने प्रतिवद्धता सुनाए ।

व्यापार, लगानी तथा पर्यटन प्रवर्धनलगायत आर्थिक कूटनीतिका क्षेत्रमा राजदूतावासको भूमिकालाई अझ प्रभावकारी बनाउन राजदूतावासमा एक जना कर्मचारीलाई सम्पर्क व्यक्तिको रुपमा तोक्ने योजना पनि राजदूत आचार्यको छ ।

गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका प्रमुख संयोजक कृष्ण बहादुर राईले भूतपूर्व गोर्खाहरुको लडाईं कुनै धर्म, जातजाती, रंगभेदको नभइ समानता र नेपाल राष्ट्रको स्वाभिमानका लागि भएको प्रष्टयाए ।

हजारौं गोर्खाहरु त्रिपक्षीय वार्ता मिति कुरेर बसेको जनाउंदै राईले नयां राजदूतबाट गोर्खा माग 
सकारात्मक ढंगले अगाडि बढ्छ भन्नेमा आफूहरु विश्वस्त रहेको पनि बताए ।

उक्त कार्यक्रममा ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरता अभियानले राजदूतसमक्ष एक ज्ञापन र अवधारणापत्र पनि हस्तान्तरण गरेको थियो ।

सत्याग्रहका सचिव होम किरात सुनुवारले सञ्चालन गरेको उक्त कार्यक्रममा गोर्खा सत्याग्रहका यूके संयोजक टक गुरुङले स्वागत मन्तव्य दिएका थिए ।

कार्यक्रममा ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरता अभियानले राजदूतसमक्ष एक ज्ञापन र अवधारणापत्र पनि हस्तान्तरण गरेको छ ।

लन्डन उत्रिएपछि भूतपूर्व गोर्खाहरुसंग राजदूत आचार्यको यो पहिलो सार्वजनिक कार्यक्रम हो । 
राजदूत आचार्यलाई भूतपूर्व गोर्खाहरुले सम्मान गर्दै उनीबाट आफूहरुले धेरै आशा राखेको बताएका थिए ।

सो अवसरमा गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका अभियान निर्देशक ज्ञानराज राई, सोलिसिटर राजु थापा लगायत सत्याग्रहका पदाधिकारी तथा मिडियाकर्मीको सहभागिता थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू