बेलायतवासी सर्जक दाहालको पहिलो मुक्तकसंग्रह ‘अर्पण’ विमोचन


लन्डन। बेलायतवासी सर्जक रमेश दाहाल ‘अनुरागी’ को पहिलो मुक्तकसंग्रह ‘अर्पण’ विमोचन भएको छ।
साहित्य चौतारी यूकेले आइतबार लन्डन बेक्सलीहिथस्थित बेस क्याम्प लाउञ्ज एण्ड रेष्टुरेन्टमा आयोजना गरेको ६३ औँ मासिक श्रृंखलामा संग्रह विमोचन गरिएको थियो ।
कार्यक्रमकी विशेष अतिथि लन्डन दूतावासकी उपनियोग प्रमुख रोशन खनाल, साहित्य चौतारी यूकेका संयोजक वासु शर्मा, साहित्य संगम यूकेका अध्यक्ष विनोद अधिकारी, वैज्ञानिक अशोक चापागाइँ, सोसाइटी अफ नेप्लिज प्रोफेसनल्स् यूकेका अध्यक्ष माधव पराजुली लगायतले संग्रह लोकार्पण गरेका थिए । त्यस्तै, कार्यक्रमका प्रमुख अतिथि नेपालस्थित साहित्यकार प्रा खगेन्द्र लुईंटेलले पनि भर्चुअल माध्यमबाट लोकार्पणमा सहभागी बनेका थिए ।
मुक्तकसंग्रह लोकार्पणपछि दाहालले आफ्नो पहिलो कृति ‘अर्पण’ आफ्नी स्वर्गीय मातालाई अर्पण गरेको सुनाए । संग्रहमा मातृप्रेम, राष्ट्रभक्ति, मायाप्रेमदेखि राजनीतिप्रतिको व्यंग्य र कोरोना महामारीले निम्त्याएको विपतसम्मका प्रसंगमा लेखिएका मुक्तकहरु समेटिएको उनले जनाए । संग्रहमा २ सय ४७ मुक्तक संग्रहित छन्।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा भर्चुअल माध्यमबाट सहभागी प्रा खगेन्द्र लुइँटेलका साथै बेलायतस्थित सर्जकहरु वासु शर्मा, चन्द्र कार्की, गजेन कटुवाल लगायतले संग्रहमाथिको समिक्षा प्रस्तुत गरेका थिए ।
विशेष अतिथि लन्डनस्थित नेपाली दूतावासकी उपनियोग प्रमुख रोशन खनालले प्रवासमा सक्रिय साहित्यकारहरुले नेपाली कला, साहित्यका साथै भाषा, संस्कृतिको प्रवर्द्धनमा समेत महत्वपूर्ण टेवा पुर्याइरहेको भन्दै प्रशंसा गरिन् ।
साहित्य चौतारी यूकेका संयोजक वासु शर्माले बेलायतस्थित नेपाली सर्जकहरुको साझा मञ्चका रुपमा सन् २०१६ मा शुरु गरिएको साहित्य चौतारीले नियमित रुपमा रचना वाचन, साहित्यिक गोष्ठी लगायतका कार्यक्रमहरु गरिंदै आएको जानकारी दिए ।
त्यसअवसरमा विनोद न्यौपाने, हेमन्त पौडेल, चन्द्र कार्की, केशव रुपाखेती, माधव पराजुली लगायतका सर्जकहरुले आफ्ना रचना वाचन गरेर सुनाएका थिए।कार्यक्रमको सञ्चालन अहिल्या कुंवर र दिनेश पौड्यालले गरेका थिए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५