बेलायत भित्रिने पर्यटक ५० वर्षयताकै कम
लन्डन । बेलायत भित्रिने पर्यटकहरुको संख्या ५० वर्षयताकै कम भएको छ । कोरोना महामारीका कारण लगाइएको यात्रा प्रतिबन्धका कारण सन् २०२१ मा यात्रु संख्या सन् १९७२ पछिकै सबैभन्दा कम भएको अधिकारीहरुले बताएका छन् ।
बेलायतकै सबैभन्दा ठूलो एअरपोर्ट हिथ्रोमा अवतरण गर्ने यात्रुको संख्या सन् २०२० को तुलनामा सन् २०२१ मा करिब २६ लाख कम भएको छ । सन् २०२० मा दुई करोड २० लाख यात्रु आएको भएपनि यो संख्या घटेर २०२१ मा एक करोड ९४ लाखमा झरेको छ । पहिलाको जस्तो सामान्य अवस्थामा फर्कन अझै ३ देखि ४ वर्ष लाग्न सक्ने अनुमान गरिएको छ ।
तर, सन् २०२२ को समरमा भने केहि सुधार हुनसक्ने अपेक्षा छ । महामारी सुरु हुनु अघि ८ करोड यात्रुहरु वर्षेनी आउने गरेका एअरपोर्ट अधिकारीले जनाएका छन् । युरोपको तुलनामा बेलायतमा यात्रा प्रतिबन्ध बढी कडा गरिएका कारण पनि यात्रु संख्या घटेको हो ।
फ्रयांकफर्ट, पेरिस लगायत केही यूरोपियन मुलुकमा भने २०२० को तुलनामा यात्रु संख्या वृद्धि भएको पाइएको छ । इंग्ल्याण्डमा भोलि २४ फेब्रुअरीबाट कोभिडसम्बन्धि बाँकी सबै प्रतिबन्ध अन्त्य गरिने भएको छ ।
भोलिबाट कोरोना संक्रमित भएपनि आइसोलेशन बस्न नपर्ने तर घरमै बस्न सुझाव दिइएको छ यद्यपि यसलाई बाध्यात्मक कानूनका रुपमा भने लागू गरिने छैन् ।
कोरोना महामारीका कारण लगाइएका सम्पूर्ण प्रतिबन्धहरु अन्त्य भएसंगै होटल, रेष्टुरेन्ट तथा हस्पिटालिटीलगायतका व्यवसायहरु लाभान्वित हुनेछन् ।