शुक्रबार, माघ ४, २०८१
23:57 | ०५:४२

युक्रेनबाट अलग भएका क्षेत्रहरूको रुसी मान्यताप्रति राष्ट्रसंघको आपत्ति

रासस–एएनआई-स्पुतनिक फ्रेब्रवरी २२, २०२२

तस्बिर सिन्हवा

न्यूयोर्क (अमेरिका), १० फागुन–डोनेट्स्क र लुहान्स्क जन गणतन्त्र (डीपीआर र एलपीआर) को स्वतन्त्रतालाई मान्यता दिने रुसको निर्णय युक्रेनको क्षेत्रीय अखण्डता र सार्वभौमसत्ताको उल्लंघन भएको संयुक्त राष्ट्रसंघका महासचिवका प्रवक्ता स्टेफेन डुजारिकले टिप्पणी गरेका छन् । रुसको सो निर्णय संयुक्त राष्ट्रसंघको बडापत्र र युक्रेनको सार्वभौमिकता विपरीत भएको प्रवक्ताको भनाइ छ ।

“युक्रेनको डोनेट्स्क र लुहान्स्क क्षेत्रका निश्चित क्षेत्रहरूको स्थितिसँग सम्बन्धित रूसी संघको निर्णयबाट महासचिव धेरै चिन्तित हुनुहुन्छ । उहाँले मिन्स्क सम्झौता अनुसार पूर्वी युक्रेनमा द्वन्द्वको शान्तिपूर्ण समाधानका लागि आह्वान गर्नुभएको छ जुन सुरक्षा परिषद्ले प्रस्ताव २२०२ (२०१५) मा अनुमोदन गरेको हो’, प्रवक्ता डुजारिकले बताएका छन् ।

संयुक्त राष्ट्रसंघले सान्दर्भिक महासभाको प्रस्तावहरू अनुरूप युक्रेनको सार्वभौमसत्ता, स्वतन्त्रता र क्षेत्रीय अखण्डताको अन्तरराष्ट्रिय रूपमा मान्यता प्राप्त सीमानामा पूर्ण रूपमा समर्थन गर्ने डुजारिकले उल्लेख गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘संयुक्त राष्ट्रसंघका महासचिवले कूटनीतिलाई प्राथमिकता दिंदै युक्रेन र वरपरको खतरनाक अवस्थालाई थप जटिल बनाउँने कुनै पनि कार्य रोक्न, तत्काल शत्रुता अन्त्य गर्न, नागरिक र नागरिक पूर्वाधारको संरक्षणमा आफ्नो प्रयास केन्द्रित गर्न सबै सम्बन्धित पक्षहरूलाई आग्रह गर्नुभएको छ ।’

रुसी राष्ट्रपति पुटिनको सो घोषणापछिको अवस्थाबारे छलफल गर्न अहिले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को बैठक बसिरहेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू