बेलायतमा हट्दै आइसोलेशन, कोरोनाबाट मर्नेको संख्या एकलाख ६० हजार
लन्डन । बेलायतमा महामारी सुरु भएयता कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख ६० हजार नाघेको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले बुधबार सार्वजनिक गरेको तथ्याँक अनुसार हालसम्म एक लाख ६० हजार ३८ जनाको ज्यान गइसकेको छ ।
पछिल्लो २४ घन्टामा थप १९९ संक्रमितको मृत्यु भएको छ । तर, राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार मृतक संख्या अझ बढी छ । कोरोनाका कारण मृत्यु दर्ता गरिएको प्रमाणपत्रको आधारमा भने एक लाख ८१ हजार ४२४ रहेको सरकारी तथ्यांकमा उल्लेख छ ।
यसैगरी बितेको २४ घण्टाभित्र ५४ हजार २१८ जना नयाँ संक्रमित थपिएका छन् । नयाँ संक्रमितसंगै बेलायतमा कोरोना संक्रमितको संख्या एक करोड ८४ लाख ४७ हजार ७०६ पुगेको छ । पछिल्लो समय इंग्ल्याण्ड र वेल्समा संक्रमणदर केहि गिरावट आएको अधिकारीहरुले बताएका छन् । तर, स्कटल्याण्ड र उत्तरी आएरल्याण्डमा अनिश्चित रहेको राष्ट्रिय तथ्यांकको कार्यालयले जनाएको छ ।
यसैगरी अस्पताल भर्ना हुने संक्रमितको संख्या पनि घट्दै गएको छ । पछिल्लो २४ घन्टामा एक हजार ९६ जना कोरोना संक्रमित अस्पताल भर्ना भएका थिए । हाल १२ हजार भन्दा बढीको अस्पतालमा उपचार भैरहेको छ भने ३५४ जनाको भेन्टिलेटर बेडमा उपचार भैरहेको विभागले जनाएको छ ।
बेलायतमा हालसम्म ९१.३ प्रतिशतले कोरोनाविरुद्धको पहिलो र ८४.९ प्रतिशतले दोस्रो डोज खोप लगाएका छन् । यसैगरी ६५.९ प्रतिशतले ‘बुस्टर डोज’ लागेको सरकारी तथ्यांकमा उल्लेख छ ।
करिब ५० हजारको हाराहारीमा दैनिक संक्रमण हुँदै गर्दा सरकारले कोभिड सम्बन्धि बाँकी रहेको आइसोलेशन सम्बन्धि प्रतिबन्ध पनि हटाउने भएको छ । सम्भवत: फेब्रुअरी २४ तारिखबाट सबै आइसोलेशन सम्बन्धि नियम हट्ने अपेक्षा गरिएको छ ।
आगामी सोमबार प्रधानमन्त्री बोरिस जोन्सनले कोभिडसम्बन्धि दिर्घकालिन योजना घोषणा गर्नेछन् । दुवै डोज खोप लगाएका मानिसलाई बेलायत लगायत अन्य युरोपेली मुलुकहरुले पनि यात्रा प्रतिबन्धमा खुकुलो पार्दै आएका छन् ।