एनआरएनए निर्वाचन तालिका प्रकाशित, अब प्रक्रिया नरोक्ने आइसीसीको अडान
निर्वाचन मार्च २१-२२ तारिखमा
लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को केही महिनादेखि अवरुद्ध रहंदै आएको निर्वाचन प्रक्रिया फेरि अगाडि बढाइएको छ ।
संस्थापन पक्षले अब निर्वाचन गराएरै छोड्ने अडान लिएसंगै बुधबार निर्वाचन समितिले निर्वाचन कार्यतालिका समेत सार्वजनिक गरेको छ । महाधिवेशन प्रतिनिधिको नाम सच्याइनुपर्ने मागसहित विरोधमा रहेको कुल आचार्य पक्षले भने यथास्थितिमा निर्वाचन सम्भव नहुने बताइरहेको छ ।
निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत भीमसेन बन्जराद्वारा जारी सूचनाअनुसार आगामी मार्च २१-२२ तारिखमा निर्वाचन हुनेछ । मनोनयन दर्ताको मिति यही फागुन २० (मार्च ४) गते तोकिएको छ । यही फेब्रुअरी १७ देखि २२ सम्म महाधिवेशन प्रतिनिधिको प्रारम्भिक नामावली प्रकाशन गरिनेछ ।
फेब्रुअरी २३ मा मतदाता नामावली प्रकाशन, फेब्रुअरी २४ देखि २७ सम्म मतदाता नामावलीमाथि दाबी विरोध, आगामी मार्च २ मा दाबी विरोधमाथि निर्णय, मार्च ३ मा अन्तिम नामावली प्रकाशन हुने निर्वाचन समितिले जनाएको छ ।
मार्च ४ र ५ मा उम्मेदवारको मनोनयन पत्र दर्ता, मार्च ६ मा उम्मेदवारको पहिलो नामावली प्रकाशन, मार्च ६ देखि ७ सम्म उम्मेदवारको उम्मेदवारीविरुद्ध दाबी विरोध, मार्च ८ मा उम्मेदवारको मनोनयपत्रको जाँच र उजुरीमाथि निर्णय र मार्च ९ मा उम्मेदवारको दोस्रो नामावली प्रकाशन हुनेछ ।
यसैगरी मार्च ११ मा उम्मेदवारले मनोनय फिर्ता, मार्च १२ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन र मार्च २१ तारिख बिहान १० बजेदेखि २२ तारिख बिहान ९:५९ सम्म मतदान हुने निर्वाचन समितिले जनाएको छ । मतदान समाप्त भएलगत्तै मतगणना गर्ने प्रमुख निर्वाचन अधिकृत भीमसेन बञ्जराले जानकारी दिए ।
सङ्घको अध्यक्षका लागि मनोनयन पत्र दर्ता दस्तुर रु १० लाख तोकिएको छ । निर्वाचित पदाधिकारी तथा सदस्यले मनोनयन दस्तुर सपथ ग्रहण अगाडि बुझाउनुपर्नेछ ।
एक अध्यक्ष, चार उपाध्यक्ष, एक महिला उपाध्यक्ष, एक युवा उपाध्यक्ष, एक महासचिव, एक सचिव, तीन महिला सचिव, एक कोषाध्यक्ष, एक सहकोषाध्यक्ष र एक महिला सहकोषाध्यक्ष गरी विभिन्न ५३ पदका लागि निर्वाचन हुनेछ । अन्तर्राष्ट्रिय समन्वय परिषद्मा एक महिला संयोजक, एक युवा संयोजक, ६ क्षेत्रीय संयोजक, ६ क्षेत्रीय उपसंयोजक, ६ क्षेत्रीय महिला संयोजक, ६ क्षेत्रीय महिला उपसंयोजक र ६ क्षेत्रीय युवा उपसंयोजकका लागि निर्वाचन हुनेछ ।
एनआरएनए निर्वाचनका लागि सङ्घले अधिवक्ता भीमसेन बञ्जराको संयोजकत्वमा सचिव भुषण घिमिरे (जापान) तथा रामप्रताप थापा (जर्मनी), चिरञ्जीवी ढकाल (बेलायत) र डा विष्णुमाया परियार (अमेरिका) सदस्य रहेको निर्वाचन समिति गठन गरिसकेको छ ।
सङ्घको इतिहासमा पहिलो पटक अनलाइन प्रणालीबाट निर्वाचन हुन लागेको हो । निर्वाचनका लागि स्वतन्त्रता र निष्पक्षताको प्रत्याभूत हुनेगरी नेपालीको संलग्नता नरहेको विदेशी निर्वाचन भेन्डर छनोट भइसकेको निर्वाचन समितिले जनाएको छ । सङ्घको निर्वाचनका लागि प्रविधिलगायत अन्य पूर्वतयारी भइसकेको छ । अनलाइन मतदानका लागि महाधिवेशन प्रतिनिधि (मतदाता) ले मतदानका समयमा आफ्नो अनुहार प्रमाणीकरण गर्नुपर्नेछ ।
संघको नेतृत्वको लागि वर्तमान उपाध्यक्षद्धय डा. बद्री केसी, रविना थापा र कुल आचार्यले आआफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५