शुक्रबार, माघ ४, २०८१
06:35 | १२:२०

युक्रेनका विषयमा कूटनीतिक समाधान खोजिएको अमेरिकी राष्ट्रपतिको भनाई 

रासस-सिन्ह्वा फ्रेब्रवरी १६, २०२२

वासिङ्टन, ४ फागुन–अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमा रुसको सम्भावित हमलाको विषयमा अमेरिकाले कूटनीतिक समाधान खोजेको स्पष्ट पारेका छन् । उनले अझै पनि रुसले युक्रेनमा हमला गर्ने सम्भावना नटरेको बताए । उनले भनेका छन् कि हमलाको सम्भावना अझै उच्च छ र यदि त्यसो भएमा रुसले निकै ठूलो मानवीय मूल्य चुकाउनु पर्ने हुनसक्छ ।

मंगलबार टेलिभिजनमा प्रसारित सम्बोधनमा बाइडेनले यदि रुसले युक्रेनमा हमला गरयो र त्यस्तो मानवीय क्षतिको अवस्था आयो भने त्यसका लागि जवाफ दिन अमेरिका तयार रहेको चेतावनी पनि दिएका थिए ।

राष्ट्रपति बाइडेनले अहिले पनि युक्रेनतर्फको सीमामा रुसले डेढ लाखजति सैनिक तैनाथ गरेको जानकारी दिए । तर रुसले भने आफ्ना केही सैनिकहरू फर्कन थालेको घोषणा गरेको छ । तर पनि त्यसमा सत्यता नरहेको अमेरिकी राष्ट्रपति बाइडेनको दावी छ ।

बाइडेनले युक्रेनको सीमाबाट रुसी फौज फिर्तीको खबरलाई अमेरिकाले अझै पुष्टि नगरेको पनि सो सम्बोधनमा बताए । राष्ट्रपति बाइडेनले आफ्ना शत्रु रुसी नागरिक नभएको स्पष्ट गर्दै तर हमलाको अवस्था आए प्रतिबन्ध लगाउन आफूहरू तयार भएर बसेको धारणा राखे ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू