बर्नमाउथ समुन्द्री किनारनजिक खुल्यो एभरेष्ट- २९०३२ रेष्टुरेन्ट
लन्डन । बेलायतको लोकप्रिय समुन्द्री किनारहरुमध्ये एक बर्नमाउथकै आसपासमा एक नेपाली रेष्टुरेन्ट खुलेको छ ।
डोरसेट काउन्टीको बर्नमाउथ काउन्सिलअन्तर्गत् वालिसडाउन भन्ने ठाउँमा ‘एभरेष्ट-२९०३२’ नामक रेष्टुरेन्ट गत मंगलबार ‘ओपनिङ’ भएको छ ।
बर्नमाउथ समुन्द्री किनारबाट मात्र दुई माइलको दूरीमा रेष्टुरेन्ट अवस्थित छ । रेष्टुरेन्टले अथेन्टिक नेपाली कुइजिनसंगै भारतीय कुइजिनका परिकार पनि पस्किने सञ्चालकहरु बताउँछन्।
रेष्टुरेन्टमा ५५ ग्राहकको सिटिङ क्षमता छ भने टेक-अवे र डेलिभरीको सुविधा पनि दिइएको छ । क्याटरिङ तथा रेष्टुरेन्ट क्षेत्रमा लामो अनुभव संगालेका शशीधर खरेल र चेतन खरेलले रेष्टुरेन्ट सञ्चालनमा ल्याएका हुन् ।
एभरेष्ट- २९०३२ रेष्टुरेन्टको मेन्यूमा मौलिक नेपाली म:मदेखि पोखरेली हाँस टिक्का, एभरेष्ट स्टाइल ल्याम्ब करी, पोर्टम्यान फिस करी लगायतका हाउस स्पेसल परिकारहरु उपलब्ध छन्। शाकाहारी ग्राहकका लागि हरियो सब्जी, शाही पनिर आदि पनि छुटाउन नहुने परिकार हुन् ।
रेष्टुरेन्टका सञ्चालक समेत रहेका हेड सेफ शशीधर खरेलले मौलिक नेपाली परिकारहरु समेटेर छुट्टै ‘स्पेसल नेपाली मेन्यू’ को पनि तयारी भइरहेको जानकारी दिए । म:म, चाउमिनका साथै छोइला, सेकुवासम्मका ‘टिपिकल’ नेपाली परिकारको स्वाद पस्किने उनीहरुको योजना छ ।
दुई दशक बढी समयअघि भारतबाट आफ्नो कुकिङ करियर शुरु गरेका सेफ खरेल दुबईमा समेत केही वर्ष काम गरेर १५ वर्षअघि बेलायत आएका हुन् । यस अवधिमा उनले बेलायतका थुप्रै इन्डियन रेष्टुरेन्टहरुमा सेफको रुपमा काम गर्ने अवसर पाएका छन्। त्यस्तै, रेष्टुरेन्टको म्यानेजरको भूमिकामा रहेका अर्का सञ्चालक चेतन खरेलसँग पनि क्याटरिङ क्षेत्रमै झन्डै डेढ दशकदेखि काम गर्दै आएको अनुभव छ ।
क्याटरिङ क्षेत्रमा बटुलेको आफ्नो अनुभवलाई अब व्यवसायिक रुपमा उपयोग गर्ने लक्ष्य राखेको म्यानेजर खरेलले बताए । ‘हामी दुवैले क्याटरिङ क्षेत्रमा लामो समय काम गर्ने, सिक्ने अवसर पाएका छौं । पछिल्लो केही वर्ष त बेलायतमा संगै काम गर्दै पनि थियौँ । अब यही अनुभवलाई आफ्नै व्यवसायमा लगानी गर्ने सोच बनाएका छौं’, खरेलले भने।
ओपनिङ भएसंगै धेरैले रेष्टुरेन्टको नामबारे जिज्ञासा राखेको सञ्चालकहरुले सुनाए ।’माउन्ट एभरेष्टको उचाईलाई फिटमा राखेर फरक शैली अपनाउन खोजिएको हो’- उनीहरु भन्छन्’, ‘यसले गर्दा धेरैको ध्यान आकर्षण गर्ने र नेपालसँगको कनेक्सनलाई पनि प्रमोट गर्ने हाम्रो आशा छ ।’
वर्षेनी गर्मी याममा सयौंको संख्याका नेपालीहरु समेत पुग्ने गरेको बर्नमाउथ समुन्द्री किनारनजिक खुलेको रेष्टुरेन्टले ती नेपालीहरुको लागि पनि आकर्षित गर्ने लक्ष्य राखेको छ ।
नेपाली ग्राहकहरुलाई विशेष ग्राहयताका साथमा उनीहरुलाई लक्षित गरी स्पेसल अफर र मेन्यू समेत ल्याइने सञ्चालकहरुले बताएका छन् ।