शुक्रबार, माघ ४, २०८१
23:44 | ०५:२९

युरोपमा पनि मनाइयो २७ औं जनयुद्ध दिवस

नेपाली लिङ्क फ्रेब्रवरी १५, २०२२

लन्डन । माओवादी जनयुद्ध शुरु भएको २७ औं वर्ष पुगेको अवसरलाई युरोपमा पनि एक कार्यक्रम गरी मनाइएको छ ।

नेपाली जनप्रगतिशील मञ्च युरोपले गत आइतबार ‘फागुन १ गते’ युरोपभर रहेका मञ्चका राष्ट्रिय समितिहरुको सहभागितामा २७ औं जनयुद्ध दिवस मनाएको हो । 

मञ्चका युरोप कमिटी अध्यक्ष सुरेन्द्र भुसालको अध्यक्षतामा सचिव रणबहादुर खाती क्षेत्रीले सञ्चालन गरेको कार्यक्रममा मञ्चआबद्ध विभिन्न कमिटीका पदाधिकारीहरुले जनयुद्ध दिवसको अवसरमा शुभकामना मन्तव्य दिएका थिए ।  

कार्यक्रमका प्रमुख अतिथि तथा नेकपा माओवादी केन्द्र प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्माले जनयुद्धले नै आज संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिताजस्ता उपलब्धि प्राप्त भएको र देशमा रोजगारी, स्वास्थ्य, शिक्षालगायतका क्षेत्रमा आमूल परिवर्तन आएको बताए ।

उनले जनयुद्ध पश्चात शान्ति प्रकृयामा आएपछि माओवादी पार्टीले आफ्ना गल्ती तथा कमीकमजोरीको आत्मसमीक्षा गर्दै व्यापक सुधार गरिरहेको बताउदै अझै यस पार्टीमा आवद्ध सबै सदस्यहरुले राष्ट्रका लागि योगदान पुर्‍याउन तल्लिन रहनुपर्ने बताए । उनले युरोपमै बसेर पनि नेपालका गाउँघरमा जागरण ल्याउन तथा परिवर्तनका लागि र माओवादी पार्टीको सशक्तिकरणका लागि सशक्त भूमिका निभाउन सबैलाई आग्रह गरे ।

त्यस्तै, नेकपा माओवादी केन्द्रका प्रवास समन्वय समितिका सचिव टीबी पाठकले जनयुद्धमा सामेल भएर शदाहत प्राप्त गर्ने शहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै जनयुद्ध दिवसबारे चर्चा गरे ।

कार्यक्रममा नेपाली जनप्रगतिशील मञ्च यूरोपका संयोजक तथा अध्यक्ष सुरेन्द्र भुसालले नेपाल गम्भिर संकटमा रहेको भन्दै सिंगो युरोपका नेपाली जनप्रगतिशील मञ्चका पदाधिकारीहरुले विभिन्न तह–तप्कालाई गोलबद्ध बनाउदै विशेष भूमिका खेल्नुपर्ने आवश्यकता औँल्याए । उनले फागुन १ गते जनयुद्ध सुरुवात भएको विशेष दिन भएको स्मरण गराउदै मञ्चका विभिन्न राष्ट्रिय समितिहरूले देशप्रति चासो तथा चेतना जगाउदै केन्द्रलाई झक्झकाउन आग्रह गरे ।

मञ्चका यूरोप सचिव रणबहादुर खाती क्षेत्रीले जनयुद्ध दिवसको बारेमा संक्षिप्त जानकारी राख्दै कार्यक्रम शुरु गरेका थिए । त्यसअवसरमा मञ्चका बेलायत समितिकी महासचिव विमला लिम्बू, डेनमार्क समितिका संगठन विभाग प्रमुख उदयराज गौतम, बेल्जियमबाट सहभागी कल्पना मगर, दुर्गाप्रसाद सुवेदी र डिल्ली भण्डारी, स्पेन समितिका पूर्वमहासचिव गंगा भुषाल, जानुका धमला, नर्वेबाट सहभागी डा. कृष्ण अर्याल, पोर्चुगल समितिका पूर्वअध्यक्ष राजेन्द्र गौतम र अध्यक्ष दावा लामा लगायतले जनयुद्धको मर्मअनुरुप अगाडि बढ्नुपर्ने विचार व्यक्त राखेका थिए ।

त्यस्तै, कार्यक्रममा मञ्च बेल्जियम समितिका इन्चार्ज जीतबहादुर लामा, अध्यक्ष प्रकाश पौडेल,  महिला संयोजक शुष्मा भुषाल चित्र सुवेदी, सुकामन तामाङ, यूके समितिबाट उपाध्यक्ष शेरसिङ ठकुरी, कृष्ण खनाल, बेल्जियमबाट जित लामा, सुशिला खतिवडा, स्वीजरल्याण्डबाट युवराज फुयाल, फ्रान्सबाट सुमन पौडेल, जर्मनीबाट गोविन्द भण्डारी, इटलीबाट रामशरण सिमखडा, डेनमार्कबाट महेन्द्र खड्का, महेस खाती तथा नेदरल्याण्डबाट संघर्ष केसीले पनि जनयुद्धको सार्थकता र वर्तमान अवस्थामा माओवादी पार्टीले निभाउनुपर्ने भूमिकाको बारेमा चर्चा गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू