शुक्रबार, माघ ४, २०८१
06:39 | १२:२४

फेब्रुअरी १६ मा रूसी आक्रमण हुन सक्ने युक्रेनी राष्ट्रपतिको सङ्केत   

रासस-एएनआई फ्रेब्रवरी १५, २०२२

किभ–युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सोमबार आफ्नो फेसबुक पोस्टमा फेब्रुअरी १६ मा रूसी आक्रमण हुन सक्ने घोषणा गरेका छन् ।
युक्रेन र रुसबीच बढ्दो तनावबीच यो घोषणा आएको हो ।

जेलेन्स्कीले राष्ट्रका नाममा सम्बोधन गरेको विषय फेसबुकमा पोस्ट गर्दै ‘हामीलाई भनिएको छ कि फेब्रुअरी १६ आक्रमणको दिन हुनेछ’ भन्ने उल्लेख गरेका छन् ।

उनले युक्रेनले बुधबार एकता दिवस मनाउने बताएका छन् । यस सम्बन्धी अध्यादेशमा हस्ताक्षर भइसकेको बताइएको छ ।

रुसले युक्रेनी सीमानजिकै एक लाखभन्दा बढी सेना परिचालन गरेको छ । सेनाको उपस्थितिले अमेरिका र नेटो सहयोगीहरू बीच चिन्ता र तिक्तता बढाएको छ। तर रुसले निरन्तररूपमा आक्रमणको कुनै योजना नभएको बताउँदै आएको छ ।

युक्रेन, रुस र नेटो राष्ट्रहरूका अधिकारीहरूले यस क्षेत्रमा तनाव कम गर्ने आशाका साथ पछिल्ला दिनहरूमा कूटनीतिक छलफललाई तीव्रता दिंदै आएका छन् । तर, वार्ताले कुनै सफलता भने हाँसिल गर्न सकेको छैन् ।

यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले शनिबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुरा गर्दै रुसले युक्रेनमा आक्रमण गरेमा ‘छिटो र गम्भीर लागत’ लाग्ने बताएका थिए ।

बाइडेन प्रशासनका अधिकारीहरूले युक्रेनमाथि ‘अब कुनै पनि दिन’ आक्रमण हुन सक्ने चेतावनी दिएका छन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू