बेलायतको फार्नबरोबाट हराएका गुरुङ आफैँ घर फर्किए
लन्डन । बेलायतको फार्नबरोबाट शुक्रबारदेखि हराएका नेपाली वृद्ध घर फर्किएका छन् ।
शुक्रबार बिहान साढे ११ बजेदेखि सम्पर्कविहिन बनेका ७४ वर्षीय हुम गुरुङ शनिबार अपरान्ह साढे ४ बजेतिर आफै घर फर्किएको ग्रेटर रश्मोर नेप्लिज कम्युनिटीका अध्यक्ष मान गुरुङले नेपाली लिंकलाई जानकारी दिए ।
ह्याम्पशायर प्रहरीमा कार्यरत पिसिओ दुर्गा थापालाई उद्दृत गर्दै अध्यक्ष गुरुङले बताएअनुसार गुरुङ आफैँ बस चढेर घर फर्किएका हुन् ।
उनी आफ्ना छोराबुहारीका साथमा फार्नबरोमा बस्दै आएको बुझिएको छ ।
गुरुङ किन र कसरी सम्पर्कविहिन बने भन्ने अझै स्पष्ट भइसकेको छैन । उनी घर फर्किएसंगै ह्याम्पशायर प्रहरीका अधिकृतहरु सोधपुछका लागि उनको घर पुगेका छन् ।
अवस्था हेरेर आवश्यक लागेमा उनलाई उपचारको लागि अस्पताल पठाउने तयारी प्रहरीको छ ।
गुरुङ घर फर्किएसंगै ह्याम्पशायर प्रहरीले उनको खोजीमा सघाउने सबैलाई धन्यवाद दिएको छ ।
ग्रेटर रश्मोर नेप्लिज कम्युनिटीका अध्यक्ष मान गुरुङले पनि गुरुङको खोजीमा जुट्ने प्रहरी र स्थानीय नेपालीहरुलाई धन्यवाद ज्ञापन गरेका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५