महिला सहकर्मीमाथि यौन दुर्व्यवहार मुद्धामा गोर्खा सैनिकले पाए सफाइ
लन्डन। महिला सहकर्मीमाथि यौन दुर्व्यहारको अभियोग लागेका बेलायती सेनामा कार्यरत एक गोर्खा सैनिकले सफाइ पाएका छन् ।
आफ्नै महिला सहकर्मीलाई यौन दुर्व्यवहार गरेको आरोपसहित लागेको मुद्धामा स्यान्डहर्स्टस्थित रोयल मिलिटरी एकेडेमीका ‘सपोर्ट स्टाफ’ राइफलम्यान सुजन गुरुङले सफाइ पाएका हुन्।
तीन दिनसम्मको बहसपछि शुक्रबार वील्शायरस्थित बल्फोर्ड मिलिटरी कोर्टले गुरुङलाई सफाइ दिएको हो । अदालतसमक्ष बयान दिंदै उनले मादकपदार्थ सेवन गरी नशामा रहेका कारण आफूलाई कुनै सम्झना नरहेको दाबी गरेका थिए ।
अदालतमा मुद्धाबाट सफाइको फैसला सुन्दै गर्दा गुरुङ रोएका थिए। उनलाई सम्झाउँदै न्यायधीशले भनेकी थिइन्, ‘तिमीले मुद्धामा सफाइ पाएका छौ । तिमीले यसबाट पाठ सिक्नेछौ भन्ने मलाई आशा छ ।’
कोर्टको सुनुवाईमा दाबी गरिएअनुसार राइफलम्यान गुरुङले आफ्नो परिचय लुकाएर अरु कसैको रुपमा प्रस्तुत भएर शारीरिक सम्बन्ध राख्ने प्रयास गरेका थिए ।
मादकपदार्थ सेवन गरेर रातको तीन बजे ती महिला सैनिक सुतिरहेको बेला उनको ढोका ढकढकाउन पुगेका थिए सुजन । मस्त निद्राबाट ब्युंझिन नपाउंदै उनलाई आफू अर्को एक गोर्खा सैनिक रहेको भन्दै सुजनले झुक्याउन खोजेका थिए । एक साताअघि ती महिला सैनिकले यौन सम्बन्ध राखेका अर्का सैनिकको परिचय बनाएर उनले फाइदा लिने कोशिश गरेको आरोप थियो ।
सुजनले ती महिला सैनिकलाई साथमा बोकेर ल्याएको रक्सी खान कर गरेका थिए । त्यसपछि उनले जबर्जस्ती रुपमा उनलाई चुम्बन गर्ने, उनले लगाएका कपडाहरु उठाउने र संवेदनशील अंगहरु छुने जस्ता हर्कत गरेको आरोप लगाइएको थियो ।