शुक्रबार, माघ ४, २०८१
13:54 | १९:३९

फ्रान्सले खोप लगाएका यात्रुका लागि कोभिड परीक्षण नियम खारेज गर्ने

रासस/एएफपी फ्रेब्रवरी ८, २०२२

तस्बिर-सिन्ह्वा

पेरिस, २५ माघ–फ्रान्सले खोप लगाएका युरोपेली संघ बाहिरका यात्रुका लागि चाँडै नै कोभिड संक्रमण भएको वा नभएको परीक्षण गर्नुपर्ने प्रावधान छिट्टै हटाउने भएको छ ।

दैनिक रुपमा संक्रमणको संख्या घट्दै गएपछि फ्रान्सले यस प्रावधानलाई क्रमशः खुकुलो पार्दै हटाउन लागेको यूरोप मामिला मन्त्री क्लेमेन्ट बेउनले मंगलबार बताएका हुन् ।

“डिसेम्बर महिनामा फेरि हामीले ओमिक्रोन भेरिएन्टको परीक्षण गर्नुपरयो । आगामी दिनहरूमा हामी खोप लगाएका मानिसहरूका लागि परीक्षणको आवश्यकता छैन भनेर घोषणा गर्नेछौं,“ बेउनले फ्रान्स २ टेलिभिजनसँग बताए ।

हाल बेलायतलगायत इयू बाहिरबाट आउने जो कोहीले पनि खोपको स्थिति जस्तोसुकै भएपनि ४८ घण्टा पहिले कोभिड संक्रमण परीक्षण गरेको रेकर्ड देखाउनुपर्ने व्यवस्था छ ।

“यो हप्ता सम्भवतः सजिलो उपायका साथ, यूरोप बाहिरबाट आइपुगेका खोप लगाएका मानिसहरूका लागि एउटा नयाँ युरोपेली नियम बन्नेछ,” उनले थपे ।

यूरोपेली सरकारका सदस्यहरू विशेष गरी यूरोपेली समूह राष्ट्रभित्रको सिमाना पार गर्ने मानिसहरूका लागि आफ्नो यात्रा नियमहरू अझ राम्रोसँग समन्वय गर्न जनवरी २५ मा सहमत भएका हुन् ।

ओमिक्रोन वृद्धिले इटाली र डेनमार्कले यूरोप क्षेत्रका बासिन्दाहरूलाई पनि प्रवेश गर्नका लागि हालसालै कोभिड परीक्षण संक्रमण नभएको पुष्टि गर्ने कागजात पेस गर्ने प्रावधान लागू गरेका थिए ।

उनीहरूले आफ्नो मुलुकमा प्रवेशका लागि राखेका नयाँ प्रावधानहरू साथै खोप प्रमाण लागू गर्न उत्प्रेरित गरेपछि यस निर्णयले ब्रसेल्सका अधिकारीहरू बेखुशी बनेका थिए । यद्यपि यसलाई पछि अन्य यूरोपेली मुलुकहरूले पनि नक्कल गरेका थिए ।

फ्रान्सेली अधिकारीहरूले यस महिनामा कोभिड प्रतिबन्धको श्रृंखला हटाउन थालेका छन् । फ्रान्समा फेब्रुअरी १६ देखि अवरूद्ध बनेका रात्रिक्लबहरू कन्सर्ट र खेलका साथसाथै बारलाई पुनः खोल्ने तयारी गरिरहेको छ ।

सोमबार फ्रान्समा ४६ हजारभन्दा बढी संक्रमित भएको पुष्टि गरिएको थियो । यसै वर्षको जनवरीको मध्यतिर प्रतिदिन चार लाख ६५ हजारभन्दा बढी संक्रमणहरूको रेकर्ड गरेको फ्रान्समा ४६ हजार संक्रमित हुनुलाई सामान्य मान्न थालिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू