शुक्रबार, माघ ४, २०८१
13:57 | १९:४२

दुबई एक्स्पोमा मनाइयो नेपाल दिवस

रासस फ्रेब्रवरी ७, २०२२

काठमाडौं । दुबईमा भइरहेको एक्स्पो २०२० मा नेपाल दिवस पनि मनाइएको होटल संघ नेपाल (हान) ले जनाएको छ । यही माघ २० गते सम्पन्न उक्त कार्यक्रममा राष्ट्रिय गानका साथ राष्ट्रिय झण्डा झण्डोत्तोलन गरिएको थियो ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेका दुबईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकाल तथा संयुक्त अरब इमिरेट्सका प्रतिनिधिमण्डलका नेता त्यहाँका परराष्ट्र तथा अन्तर्राष्ट्रिय सहयोगसम्बन्धी सहायकमन्त्री युसुफ अल होसानीले सभालाई सम्बोधन गर्दै दुई देशबीचको बहुआयामिक सम्बन्ध एक्स्पोका कारणले थप उचाइ लिएको बताएका थिए । दुवैले संयुक्त अरब इमिरेट्सको आर्थिक विकासमा त्यहाँ कार्यरत झण्डै साढे दुई लाख नेपाली कामदारहरुको योगदानको चर्चा गरेका थिए ।

नेपाली प्रतिनिधिमण्डल तथा दुबईमा कार्यरत उल्लेख्य नेपाली समुदायको सहभागितामा सो एक्स्पोका लागि नेपाल सरकारबाट नियुक्त नेपाली आयोजक इम्प्लिमेन्टिङ एक्स्पर्ट ग्रुप (आइइजी) ले नेपालबाट तयार गरी लगेको मच्छेन्द्रनाथको आकर्षक प्रतिमूर्तिका साथ मच्छेन्द्रनाथको सानो कदको रथ तानेर दुबईमा पानी परोस् भन्ने प्रार्थना गर्दै नाचगान बाजागाजाका साथ झाँकी प्रस्तुत गरिएको थियो ।

दुबईमा रहेका नेपाली कलाकारलगायत सांस्कृतिक संस्थानबाट गएका कलाकारले नेपाल दिवसमा प्रस्तुत गरेका हिमाल, पहाड, उपत्यका तथा तराईका मौलिक नाचगान सङ्गीत एक्स्पोमा निकै रुचाइएको नेपालका राष्ट्रिय संयोजक तथा प्याभिलियन डाइरेक्टर विनायक शाहले बताए ।

सो एक्स्पोका लागि नेपाली आयोजक इम्प्लिमेन्टिङ ग्रूपका अध्यक्ष तथा डेपुटी कमिश्नर जनरल अमृत शाक्यले नेपाली तथा संयुक्त अरब इमिरेट्सका प्रतिनिधिमण्डललाई नेपाल मण्डपमा स्वागत गर्दै प्रमुख विषयवस्तुहरुबारे जानकारी गराए ।

सन् २०२१ को अक्टोबर १ मा कोरोनाका कारण एक वर्ष ढिलो गरी सुरु भएको एक्स्पो २०२० दुबईमा विश्वका १९२ राष्ट्र तथा ५० भन्दा बढी अन्तर्राष्ट्रिय संघसंगठनहरुको प्रतिनिधित्व छ ।

‘आपसी सम्पर्क र सम्बन्धबाट समुन्नत भविष्य’ को नारा लिएर मार्चसम्म सञ्चालित छ महिने सो एक्स्पोमा नेपाली कला कौशल संस्कृति झल्काउने आकर्षक नेपाली मण्डपले हालसम्म झण्डै १७ लाख दर्शकलाई स्वागत गरिसकेको आयोजकले जनाएको छ ।

युरोप, अमेरिका र एसियालाई जोडेर छोटो समयमा दुबईले हासिल गरेको आर्थिक चमत्कार जस्तै भारत र चीनको बीचमा रहेको नेपालमा पनि जलविद्युत्, पर्यटन, सूचना प्रविधि, कृषि, वन र खनिजजन्य उत्पादनहरुको युवा जनशक्तिको उपयोगबाट अपार आर्थिक लाभ लिन प्रत्यक्ष वैदेशिक लगानी तथा व्यापारका लागि नेपाल मण्डपले विश्व समुदायलाई आह्वान गर्दै प्रदर्शनी तथा प्रवद्र्धनका नियमित कार्यहरु गर्दै आएको छ ।

सो एक्स्पोमा रहेको नेपाल मण्डपको सञ्चालन तथा व्यवस्थापन इम्प्लिमेन्टिङ एक्स्पर्ट ग्रुपले गरेको छ ।

एक्स्पो २०२० दुबईमा सम्पन्न नेपाल दिवसका सहभागी नेपाली प्रतिनिधिमण्डलमा नेपाली राजदूत, राजदूतावासका अधिकारी, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अधिकारी, एक्स्पोका लागि नेपाली आयोजक संस्थाका पदाधिकारी रहेका थिए ।

साथै सांस्कृतिक संस्थानका कलाकार, युएईमा रहेका विभिन्न नेपाली संघ संस्थाका प्रतिनिधिहरु र सयौँको सङ्ख्यामा त्यहाँ कार्यरत आआफ्नो मौलिक वेशभूषामा सुसज्जित नेपाली सहभागी थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू