शुक्रबार, माघ ४, २०८१
19:38 | ०१:२३

नारायणहिटी संग्रहालयका जीर्ण संरचना मर्मत गर्न मन्त्री आलेको निर्देशन

रासस फ्रेब्रवरी ३, २०२२

संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री प्रेमबहादुर आले आज बिहिबार नारायणहिटी दरबार सङग्रहालयको निरीक्षण अनुगमन गर्दै । तस्वीर- विमलबहादुर विष्ट, रासस

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नारायणहिटी दरबार संग्रहालयका जीर्ण संरचना मर्मत गर्न निर्देशन दिएका छन् ।

संग्रहालयको आज अनुगमन तथा निरीक्षणपश्चात मन्त्री आलेले पर्यटक आर्कषित गर्न तथा दरबारको अस्तित्व जोगाइ राख्नका लागि आकर्षक र सुन्दर बनाउनुपर्ने बताए । उनले भने, “नारायणहिटी ऐतिहासिक दरबार हो, यस्को सुन्दरतामा कमी नहोस्, बजेट आवश्यक परे माग्नुस् ।”

निरीक्षण तथा अनुगमनका क्रममा मन्त्री आलेले संग्रहालय अगाडिको घरको छाना मर्मत, दरबार रंगरोगन, दरबार अगाडिको भरयाङ मर्मत, भित्रका सरसामानको सफाइ गर्न तथा दिगो राख्न, महेन्द्र मञ्जिलको छानो मर्मत गर्न निर्देशन दिए ।

सो अवसरमा मन्त्री आलेले संग्रहालयमा रहेका पूर्वराजा तथा विदेशी पाहुँनाका लागि प्रयोग गरिएका गाडीको सरसफाइ र मर्मत गरी प्रदर्शनीका लागि राख्न निर्देशन दिए ।

बतास कम्पनीले निर्माण गरी भत्काएका संरचना हटाएर बगैँचा निर्माण तथा पहिलाकै अवस्थामा संरचना निर्माण गर्न उनले निर्देशन दिएका छन् । मन्त्री आलेले संग्रहालयको जमिनमा निर्माण गरिएका संरचनाका विषयमा मन्त्रालयले १५ दिन अघि कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेकाले सम्बन्धित निकायलाई कारबाही प्रक्रिया अघि बढाउन पहल गरिने विश्वास व्यक्त गरे ।

मन्त्रालयका सचिव एवं सङ्ग्रहालयका अध्यक्ष महेश्वर न्यौपानेले सङ्ग्रहालयका संरचना र सामग्रीको रेखदेख तथा मर्मत र सरसफाइमा ध्यान दिन त्यहाँ कार्यरत कर्मचारीलाई निर्देशन दिए । सो कार्यका लागि मन्त्रालयले आवश्यक सहयोग गर्ने उनले बताए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू