शुक्रबार, माघ ४, २०८१
07:14 | १२:५९

‘सु ग्रे प्रतिवेदन’ पछि बेलायती प्रधानमन्त्री थप आलोचित

नेपाली लिङ्क फ्रेब्रवरी १, २०२२

प्रधानमन्त्री बोरिस जोन्सन । तस्विर- एएफपी

लण्डन । बेलायतमा कोभिड १९ नियन्त्रणका लागि राष्ट्रव्यापी लकडाउन भइरहँदा प्रधानमन्त्री कार्यालयमै पार्टी गरिएकोबारे छानविन प्रतिवेदनपछि प्रधानमन्त्री बोरिस जोन्सन थप आलोचित बनेका छन् ।  

प्रधानमन्त्री जोन्सनले आफ्नो कार्यालयमा भएका भनिएका त्यस्ता पार्टीहरुबारे छानविन गर्न वरिष्ठ निजामति कर्मचारी सु ग्रेलाई जिम्मा दिएका थिए । 

ग्रेले सोमबार प्रधानमन्त्री जोन्सनलाई बुझाएको प्रतिवेदनको सार संसदमा प्रस्तुत भएपछि प्रधानमन्त्रीको राजिनामा माग झन् बढेको छ । संसदमा प्रतिपक्ष लेवरसहित सत्तारुढ टोरीकै सांसदहरुले तीव्र आलोचना गरेका छन् ।  

प्रधानमन्त्रीले भने माफी माग्दै आफू र सरकार विश्वास गर्न लायक भएको जिकिरसहित आफ्नो कार्यालय संचालनमा सुधार गर्ने वाचा गरेका छन् ।  

बीबीसीका अनुसार, सु ग्रे प्रतिवेदनले लकडाउनका बेला सन् २०२० मे १५ देखि १६ अप्रिल २०२१ सम्म प्रधानमन्त्री कार्यालय वा मन्त्रिपरिषद् अफिस र शिक्षा मन्त्रालयमा गरी १६ वटा पार्टी आयोजना गरिएको बताएको छ । १६ मध्ये १२ वटा पार्टीबारे लण्डन मेट प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रधानमन्त्री जोन्सनको जन्मदिन, उनका विशेष सल्लाहकार डोमिनिक कमिङको बहिर्गमन, क्रिसमस, प्रधानमन्त्रीका कार्यालयका विभिन्न कर्मचारीको विभिन्न समयमा विदाइका अवसरमा त्यस्ता पार्टी भएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनले नेतृत्वको असफलता र काममा पिउने संस्कृतिबारे पनि औंल्याएको छ ।

सुले सो प्रतिवेदन तयार गर्न ७० जनाभन्दा बढीसंग अन्तर्वार्ता गरेकी थिइन् । उनले विभिन्न इमेल, तस्बिर, व्हाटस अप मेसेज, टेक्स्ट मेसेज पनि जांच गरेकी थिइन् ।  

प्रहरीले अनुसन्धान सकेपछि उक्त प्रतिवेदनको पूर्ण दस्तावेज प्रकाशित गरिने बेलायती प्रधानमन्त्री कार्यालयले जनाएको छ ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू