त्रिपक्षीय वार्तामा दवाव सृजना गर्न गोर्खाहरुको सक्रियता, सांसद शर्मासंग भेट
लन्डन । भूतपूर्व गोर्खासहित नेपाल र ब्रिटेन सरकारबीच गोर्खा समस्या तथा समाधानबारे वार्ता हुनुअघि दवाव सृजना गर्न गोर्खाहरु जुटेका छन् ।
गोर्खा सत्याग्रह समिति बेलायतले आइतबार बेलायतको सर्वदलीय संसदीय समिति (एपीपीजी) का नेपाल हेर्ने अध्यक्ष सांसद वीरेन्द्र शर्मासंग भेटेर सहयोग अपिल गरेका छन् ।
सो भेटमा गोर्खाहरुका तर्फबाट वार्ता मध्यस्तकर्ता तथा प्रवक्ता मेजर (रि.) जुधबहादुर गुरुङले करिब ४५ मिनेट लामो ब्रिफिङमा सांसद शर्मालाई विगत २०७ वर्षदेखि गोर्खामाथि भएको अन्याय, त्यसको असर र वर्तमान माग आदिबारे इतिवृत्तान्त सुनाएका थिए ।
उनले गोर्खाहरुको जटिल समस्या समाधानका लागि शर्मालाई साथ दिन आग्रह गर्दै एपीपीजीको आपतकालिन बैठक राखिदिन अपिल गरेको सत्याग्रह बेलायतकी महासचिव सइन्द्र केसीले जनाइन् । एपीपीजीको बैठक आव्हान भए आफैं त्यहां सहभागी भएर सबै बेलिविस्तार लगाउने सोच भूतपूर्व गोर्खाहरुको छ ।
प्रत्युत्तरमा सांसद शर्माले आफूले एपीपीजी बैठक छिट्टै बोलाउन प्रयत्न गर्ने आश्वासन दिएका छन् । सांसद शर्माले बेलायतका कयौं चुनावी क्षेत्रमा गोर्खाको बसोवास रहेकाले ति क्षेत्रका सांसदहरुलाई पनि भेटेर दवाव सृजना गर्न सल्लाह दिएका थिए ।
भेटमा सत्याग्रहका कानूनी सल्लाहकार सोलिसिटर राजु थापाले सत्याग्रहले गोर्खा आन्दोलन नेतृत्व गरेपनि सबै संगठनलाई समेट्न सुझाव दिए । उनले गोर्खाहरुका वयस्क सन्तानलाई ‘भिजा फि’ नलिइ आवेदनको व्यवस्था प्रावधानका लागि राजनीतिक पहल हुनुपर्नेमा पनि जोड दिए । उक्त भेट थापाकै पहलमा भएको हो ।
सो अवसरमा सत्याग्रह समिति नेपालले नवनियुक्त राजदूत ज्ञानचन्द्र आचार्य बेलायत आउनुअघि भेटेर आफ्ना मुद्दा अवगत गराउने तयारी गरेको पनि जनाइयो ।
बैठकमा सत्याग्रह बेलायत शाखाका संयोजक टक बहादुर गुरुङ, अभियान निर्देशक ज्ञानराज राई, पुष्प घले राणा, धन गुरुङ, लक्ष्मी घिसिङ, बिष्णु कुमारी गुरुङ लगायत कार्यकारी सदस्यहरुको सहभागिता थियो ।
राजदूत आचार्य फेब्रुअरी पहिलो सातासम्म लन्डन आइपुग्ने अपेक्षा छ । राजदूत यहां आएपछि पनि गोर्खाहरुले उनलाई भेट्ने योजना बनाएका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५