शुक्रबार, माघ ४, २०८१
06:33 | १२:१८

तोडफोड गरिएको अनुग्रह ज्वेलर्सको अल्डरसट शाखा पुनः सञ्चालनमा

नेपाली लिङ्क जनवरी २८, २०२२

लन्डन । लुटेराले तोडफोड गरेपछि क्षतिग्रस्त नेपालीद्धारा सञ्चालित अनुग्रह ज्वेलर्सको अल्डरसट शाखा पुनः सञ्चालनमा आएको छ ।

शुक्रबार बेलायती भेट्रान तथा रक्षा राज्यमन्त्री लियो डोकेर्टी, अल्डरसटस्थित स्थानीय काउन्सिलर जीव बेल्वासे, रसमोर बरो काउन्सिल लिडर डेभिड क्लिफोर्ड, एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगर लगायतले एकसमारोहबीच मर्मतसम्भार गरिएको पसल उद्घाटन गरेका हुन् ।

अतिथीहरुले अनुग्रहमाथि पर्न गएको व्यवसायिक क्षतिप्रति सान्त्वना व्यक्त गर्दै भविष्यमा यस्ता अप्रिय घट्ना दोहोरिन नदिन आफूहरुको सक्दो पहल रहने बताएका थिए ।

गत १० डिसेम्बर लुटेराले गाडी जोतेर पसल तोडफोड गरेपछि झण्डै एकसाता पसल पूर्ण रुपमा बन्द भएको थियो । त्यसपछि कामचलाउ रुपमा ग्राहकलाई सेवा दिंदै आएको अनुग्रहले आजबाट आफ्नो पूर्ववत अवस्थामा सेवा दिन शुरु गरेको सञ्चालक सुमन राईले बताए ।

पसल तोडफोडपछि व्यवसायमा असर परेपनि अब पुनः आफ्ना ग्राहकलाई सेवा दिन प्रतिवद्ध रहेको सञ्चालक राईले जनाए ।

सञ्चालक राईले आफ्नो पसल बेलायत सरकारबाट मान्यताप्राप्त शुद्ध गरगहना बेच्ने र किन्ने, अर्डर गरिएको सामान यूके युरोपमा डेलिभर गरिदिने, विक्री भएका सामानको ग्यारेन्टी लिने जस्ता सुविधा ग्राहकलाई प्रदान गरिने भएकाले निर्धक्क भएर पसलमा आउन आग्रह गरेका छन् । अनुग्रहको लन्डन शाखा पनि छ ।

अत्याधुनिक प्रविधि जडान भएका कारण लुटेराले कुनै गरगहना लैजान नपाएपनि पसलको भौतिक संरचनामा क्षति पुगेको थियो । हयाम्सपायर प्रहरीले उक्त घट्नालाई अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू