शुक्रबार, माघ ४, २०८१
06:34 | १२:१९

बेलायतमा कोरोनाबाट मर्नेको संख्या एक लाख ५५ हजार नाघ्यो  

२४ घन्टामा २७७ संक्रमितको मृत्यु

नेपाली लिङ्क जनवरी २८, २०२२

लन्डन । बेलायतमा कोरोना महामारी सुरु भएयता कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख ५५ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा थप २७७  जना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण बढी मृत्यु हुने मुलुकहरुमा अमेरिका, ब्राजिल, भारत, रसिया, मेक्सिको र पेरुपछि बेलायत सातौँ स्थानमा छ ।

बेलायतमा हालसम्म कोरोना संक्रमणबाट एक लाख ५५ हजार ३१७ जनाको ज्यान गइसकेको छ । तर मृत्यु दर्ताका आधारमा भने एक लाख ७६ हजार भन्दा बढीको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ को तथ्यांकमा उल्लेख छ । विश्वभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५६ लाख ६० हजार नाघेको छ ।

यस्तै कोरोना संक्रमितको संख्या पछिल्लो समयमा निरन्तर घट्दै गएको छ । ओमिक्रोन संक्रमणका कारण दैनिक संक्रमण दर दुई लाख नाघेपनि अहिलो यो संक्रमित संख्या घटेर एक लाख भन्दा काममा झरेको छ । पछिल्लो २४ घन्टामा ८९ हजार १७६  जनामा संक्रमण पुष्टि भएको छ । यससंगै बेलायतमा कोरोना संक्रमितको कुल संख्या एक करोड ६३ लाख ३३ हजार ९८०  पुगेको छ ।

यसअघिको ‘डेल्टा’ भन्दा कम शक्तिशाली ठानिएको ‘ओमिक्रोन’ संक्रमण दर तीव्र भएपनि यसको असर कम भएकाले बेलायतमा कोभिड सम्बन्धि सबै प्रतिबन्ध हटाउँदै लगिएको छ । दुवै डोज खोप लगाइसकेका बेलायत भित्रिने यात्रुहरुको लागि यसअघि अनिवार्य गरिएका कोभिड सम्बन्धि परीक्षणहरु अर्को महिनाबाट अन्त गरिंदैछ ।

कोरोनाविरुद्धको खोप प्रभावकारिता बढेसंगै बेलायतमा अहिले बुस्टर डोज वितरण कार्यलाई तीव्रता दिइएको छ । बेलायतमा ९०.९ प्रतिशतले कोरोनाविरुद्धको पहिलो मात्रा खोप लगाएका छन् भने दोस्रो मात्रा लगाउनेको संख्या ८४ प्रतिशत छ । ‘बुस्टर’ अर्थात तेस्रो मात्रा खोप लगाउनेको संख्या पनि ६४.६ प्रतिशत भन्दा बढी छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू