शुक्रबार, माघ ४, २०८१
05:55 | ११:४०

काठमाडौं कोरोनाको केन्द्र, थप चार हजार ९६१ संक्रमित

रासस जनवरी १६, २०२२

भक्तपुर नगरपालिकामा मङगलबारदेखि सञ्चालन गरेको कोभिड– १९ विरुद्धको मोडर्ना खोप अभियानमा विद्यार्थीहरुलाई खोप लगाइँदै । तस्वीर- रमेश गिरी, रासस

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप चार हजार ९६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सङ्ख्या शनिबार देखिएको नयाँ संक्रमितभन्दा ३२५ ले बढी हो । शनिबार देशभरमा चार हजार ६३६ नयाँ संक्रमित पुष्टि भएको थियो ।

उपत्यकाका तीन जिल्लामा आज तीन हजार ३४७ नयाँ संक्रमित थपिएका छन् । काठमाडौँमा दुई हजार ५४५, ललितपुर ४७४ र भक्तपुरमा ३२८ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । नयाँ संक्रमितमध्ये चार हजार ५३४ को पिसीआर र ४२७ को एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो ।

पछिल्लो २४ घण्टामा १५ हजार १३१ जनाको नमूना परीक्षण गरिएको थियो । १२ हजार ५६२ जनाले पिसीआर र दुई हजार ५६९ जनाले एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो अवधिमा जम्मा परीक्षणमध्ये औषत संक्रमणदर ३६ दशमलव एक प्रतिशत छ । यही अवधिमा ४३५ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।

कोभिडविरुद्धको खोप लगाउनेको सङ्ख्या पछिल्लो २४ घण्टामा ५४ हजार ३१२ छ । हाल सक्रिय संक्रमितको सङ्ख्या २५ हजार ६८० रहेको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट तीन जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

हाल भेन्टिलेटरमा रहनेको सङ्ख्या जम्मा २९ र आइसीयूमा १२२ जना रहेका छन् । होम आइसोलेशनमा २४ हजार ५८४, संस्थागत आइसोलेशनमा एक हजार ९६ र संस्थागत क्वारेन्टिनमा १२१ रहेका छन् ।

सरकारले आजदेखि अग्रपंक्तिमा रहेका नागरिकलाई बुष्टर डोज खोप सुरु गरिसकेको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले बताए । देशभर हाल लगाइरहेको सबै खोप प्रभावकारी र निःशुल्क रहेको उनले बताए । खोपले गम्भीर स्वास्थ्य समस्याबाट बचाउने भन्दै उनले खोप लगाउनुपर्नेमा जोड दिए । उनले भने, “खोप लगाउने ठाउँमा स्वास्थ्यका मापदण्ड भने पालना गर्नुपर्छ ।”

सरकार खोप कार्यक्रम विस्तारमा लागेको सहप्रवक्ता डा अधिकारीले बताए । पुस मसान्तसम्म दुई तिहाइलाई खोप लगाउने लक्ष्य लिइएकामा बागमती र गण्डकी प्रदेशमा लक्ष्यानुसार लगाइसकिएको उनले बताए । उनले अगाडि भने, ‘पुस मसान्तसम्ममा दुई तिहाइलाई लगाउने लक्ष्य लिइएकामा ६१ प्रतिशतलाई लगाइएको छ ।’

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू