शुक्रबार, माघ ४, २०८१
13:52 | १९:३७

बेलायतका नेपाली इन्जिनियरहरुले गरे नवीकरणीय ऊर्जा सम्बन्धि विशेष वेबीनार

नेपाली लिङ्क जनवरी ९, २०२२

लन्डन । बेलायतमा रहेका नेपाली इन्जिनियरहरुको संस्था सोसाइटी अफ नेपाली इन्जिनियर्स इन् यूके (सोने यूके) ले ८ जनवरी २०२२, शनिबार ‘ऊर्जा परिदृश्यः नवीकरणीय ऊर्जा एवं दिगोपन’ विषयक वेबीनार गरेको छ ।

उक्त वेबीनारमा यूके, नेपाल र अमेरिकाका झण्डै ४५ भन्दा बढि इन्जिनियर र व्यवस्थापकहरूको उत्साहजनक सहभागिता थियो ।

वेबीनारमा साउदी अरेबियाको निओम कम्पनीमा ग्रीड प्लानिङ एण्ड रिन्यूएवल इन्टिग्रेशनका प्रमुख प्लानिङ इन्जिनियर डा. रोशन भट्टराईको विशेष प्रस्तुति थियो । डा. भट्टराई सोसाइटीका सचिव एवं सामाजिक तथा मनोरञ्जन उपसमितिको संयोजक हुन् ।

कार्यक्रम प्रारम्भ गर्दै संस्थाका महासचिव डा. विदुर घिमिरेले सबै सहभागीलाई स्वागतसहित वेबीनारको एजेन्डा प्रस्तुत गरेका थिए ।

वेबीनारको समन्वय सोने यूकेका कार्यकारी समिति सदस्य प्रवीन लिम्बुले गरेका थिए ।

कार्यक्रममा कोषाध्यक्ष रश्मी सिंह राणाले सहभागीसमक्ष वक्ता डा. भट्टराईको संक्षिप्त परिचय गराएकी थिइन् ।

वेबीनारमा डा भट्टराईले भविष्यको ऊर्जाबारे चर्चा गर्दै कसरी कार्बन–शून्य उर्जाले दीगोपन ल्याउन सक्छ भन्ने सम्बन्धमा प्रकाश पारे ।

डा. भट्टराईले भविष्यको रिन्यूएवल ग्रीड, इनर्जी स्टोरेज, ग्रीन हाइड्रोजन र माइक्रो ग्रीड म्यानेजमेन्ट आदिको संयोजनमार्फत उच्चस्तरको नवीकरणीय उत्पादनका साथ विद्युत आपूर्ति र माग सन्तुलनका लागि आवश्यक विद्युतीय प्रणालीको लचिलोपन कसरी हासिल गर्न सकिन्छ भनेर प्रकाश पारे ।

भट्टराईले लचिलो उर्जा बजारका चुनौति र अवसर एवं आगामी दिनमा त्यसको दिगोपनका बारेमा पनि चर्चा गरे ।

प्रश्नोत्तर सत्रमा प्रस्तुत विषयबारे थप अन्वेषण गर्न सहभागीहरू उत्साहजनक र सक्रिय रूपमा 
संलग्न थिए । संस्थाका वरिष्ठ सदस्यहरू लगायत सबै सहभागीले वेबीनारको सामग्री र प्रस्तुतिको प्रशंसा गर्दै यो ज्ञानवर्धक भएको बताएका थिए ।

डा. भट्टराईले स्वच्छ र वातावरणीय रूपमा सुरक्षित नवीकरणीय ऊर्जा कसरी एक आशाजनक वैकल्पिक समाधान हो भन्ने दर्शाउंदै साउदी अरेबियाको निओमले पहिलो संज्ञानात्मक र स्मार्ट शहरको अवधारणाका लागि नवीकरणीय ऊर्जालाई कसरी ऊर्जा स्रोतको रूपमा लिएको छ भनेर प्रष्ट पारे ।

कार्यक्रममा सोने यूकेका उपाध्यक्ष नारद भण्डारीले वक्ता र सहभागीहरूलाई धन्यवाद दिए भने संस्थाका अध्यक्ष संयुक्त श्रेष्ठले सारगर्भित मन्तव्यसहित कार्यक्रम समापन गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू