प्रचण्डलाई कोरोना संक्रमण, पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्का नेता नारायणकाजी श्रेष्ठलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्यमा केही असहजता देखिएकाले शुक्रबार बेलुकी पीसीआर परीक्षण गर्दा प्रचण्डलाई कोरोना भाइरस संक्रण पुष्टि भएको उहाँका स्वकीय सचिव गंगा दाहालले जानकारी दिइन् ।
‘उहाँको स्वास्थ्यमा केही असहजता देखिएकाले हिजो बेलुका पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको छ’, उनले भनिन्, ‘अहिले उहाँ निवासमा बसेर स्वास्थ्य लाभ लिइरहनुभएको छ र स्वास्थ्य अवस्था सामान्य छ ।’
चिकित्सकको सल्लाहअनुसार आइसोलेशनमा बस्नुपर्ने भएकाले उनका पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित गरिएको सचिवालयले जनाएको छ ।
यस्तै अर्का नेता श्रेष्ठलाई पनि शुक्रबार पीसीआर परीक्षण गर्दा संक्रमण देखिएको हो । चिकित्सकको सल्लाहअनुसार नेता श्रेष्ठ १४ दिन आइसोलेशनमा बस्ने उनका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले जानकारी दिए ।