शुक्रबार, माघ ४, २०८१
13:39 | १९:२४

कोरोनाको सम्भावित तेस्रो लहर रोक्न प्रधानमन्त्रीको निर्देशन

रासस जनवरी ७, २०२२

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरसको सम्भावित तेस्रो लहरको संक्रमण रोक्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज आयोजित कोभिड–१९ निर्देशक समितिको बैठकलाई सम्बोधन गर्दै उनले सरकारका मन्त्री, मुख्यसचिव र सचिवलाई सम्भावित तेस्रो लहरको संक्रमण रोक्न आवश्यक कदम चाल्न निर्देशन दिएका हुन् । उनले बुस्टर डोज र भारतसँग रहेको खुला नाकामा होल्डिङ सेन्टर स्थापनालाई प्राथमिकता दिनुपर्ने बताए ।

यही पुस २२ गते ५४० मा पुष्टि भएको कोरोना भाइरस संक्रमण आज एकैदिन ९६८ जनामा पुष्टि भएको छ । भारतको पन्जाव, गुजरात, उत्तरप्रदेश, बिहारलगायत प्रदेशमा संक्रमणको तेस्रो लहर फैलिसकेको छ । तेस्रो लहर फैलिन नदिनु सरकारको प्रमुख प्राथमिकता भएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले संक्रमण फैलिन नदिन जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न निर्देशन दिए । उनले सीमामा तेस्रो लहरको संक्रमणको चुनौति रहेकाले सीमा नाकामा कोरोना भाइरसको परीक्षण दर बढाउन पनि निर्देशन दिए ।

प्रधानमन्त्री देउवाले भारतसँग सीमा जोडिएका नाकामा होल्डिङ सेन्टर पनि चाँडै स्थापना गर्न निर्देशन दिए । “भारत सीमाबाट आएका सबै व्यक्तिलाई परीक्षण गर्नुपर्दछ”, उनले भने, “परीक्षण गर्दा संक्रमण भेटिए आइसोलेशन र होल्डिङ सेन्टरमा राखेर उपचार गर्नुपर्दछ ।”

उनले तेस्रो लहरको ओमिक्रोन भेरियन्ट छिटो फैलिने भएकाले खतरा रहेको र समयमै रोकथाम र नियन्त्रणका लागि आवश्यक काममा लाग्नुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री देउवाले बुस्टर डोज लगाएपछि तेस्रो लहरको खतरा कम हुने भएकाले सबैलाई बुस्टर डोज लगाउने गरी व्यवस्थापनसमेत गर्न निर्देशन दिए । उनले तेस्रो लहरको सम्भावित जोखिम हुन नदिनका लागि अस्पतालमा अक्सिजन र शैय्याको व्यवस्थापन गर्नुपर्ने बताए ।

नागरिकलाई बचाउनु सरकारको कर्तव्य भएको भन्दै प्रधानमन्त्री देउवाले सबैको सहयोगले सम्भावित तेस्रो लहर नियन्त्रण गर्न सकिने विश्वास व्यक्त गरे । “अक्सिजन नै नपाएर मानिस मर्नु हुन्न”, उनले भने, “त्यसैले सबै मिलेर कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि युद्धस्तरमा काम गर्नुपर्दछ ।”

बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले सीमा नाकामा चाँडै नै होल्डिङ सेन्टर निर्माण गर्नेतर्फ लाग्नुपर्ने बताए । उहाँले संक्रमितको पहिचान गरी आइसोलेशनमा राख्नुपर्ने बताए ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रवहादुर कार्कीले विगतको अनुभवलाई लिएर उच्च सतर्कता नअपनाए ठूलो संकट व्यहोर्नु पर्ने भन्दै चाँडै नै सम्भावित तेस्रो लहरको रोकथाम र नियन्त्रणको उच्च तयारीमा लाग्नुपर्ने भनाइ राखे । उनले खोप अभियानलाई तीव्रता दिनुपर्ने भन्दै खोप समयमा नै दिन नसके अकल्पनीय दुर्घटना व्यहोर्नुपर्नेतर्फ सचेत रहनुपर्ने पनि बताए ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले ओमिक्रोन भेरियन्टको रोकथाम र नियन्त्रणका लागि मन्त्रालयले काम गरिरहेको बताए । उनले ओमिक्रोन भेरियन्टबाट ठूलै डर सिर्जना हुने नठानेर पहिलेको अनुभवबाट नै नियन्त्रण गर्न सकिने धारणा राखे । उनले अहिले तेस्रो लहरको हल्लासँगै खोप लगाउनेको सङ्ख्या पनि बढेको भन्दै खोप लगाउनका लागि अभियान नै सञ्चालन गर्ने बताए ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शैक्षिक संस्था, पार्टी प्यालेस र भीडभाड हुने ठाउँमा सतर्कता अपनाउन आवश्यक रहेको बताए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले विमानस्थलको आगमन र प्रस्थान दुवै ठाउँमा पीसीआर परीक्षण गरेर मात्रा यात्रुलाई चढाउनुपर्ने व्यवस्था गर्नुपर्ने बताए ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले नेपालबाहिरबाट आएका संक्रमितलाई होल्डिङ सेन्टरमा राख्नुपर्ने बताइन् । उनले विगतमा अक्सिजन नपाएर धेरै मानिसले ज्यान गुमाउनुपरेको भन्दै अक्सिजनको व्यवस्थापन प्रर्याप्त गर्नुपर्ने बताइन् ।

खानेपानीमन्त्री उमाकान्त चौधरीले गाउँगाउँमा खोप अभियान सञ्चालन गरेर सबैलाई खोप लगाउनुपर्ने बताए । उनले परीक्षणको दायरा बढाउँदै आइसोलेशन र होल्डिङ सेन्टर जतिसक्दो चाँडो निर्माण गर्नुपर्ने बताए ।

श्रम, रोजगार तथा सामाजिक विकासमन्त्री किसान श्रेष्ठले राजनीतिक दलका आमसभा, भीडभाड हुने कार्यक्रम र सार्वजनिक कार्यक्रम रोक्नुपर्ने बताए । युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले स्वास्थ्यका मापदण्ड पालना गर्नमा लापरवाही बढिरहेकाले जनचेतना जगाएर स्वास्थ्यका मापदण्ड पालनामा कडाइ गर्नुपर्ने बताए । उनले होल्डिङ सेन्टरको निर्माण दु्रतगतिबाट गर्नुपर्ने र सीमाको आवतजाउमा कडाइ गर्नुपर्ने धारणा राखे ।

कार्यक्रममा मुख्यसचिव शंकरदास बैरागीले विगत र छिमेकी देशको अनुभवलाई हेरेर सम्भावित जोखिम हुन नदिने उपाय अपनाउनुपर्ने बताए । उनले जतिसक्दो सबै नागरिकलाई खोप दिनुपर्ने भन्दै खोपका लागि आवश्यक सिरिन्ज कहाँबाट चाँडै पाइन्छ त्यहीँबाट ल्याउनुपर्नेमा जोड दिए । उनले दोस्रो लहरमा स्थानीय र प्रदेश तहले राम्रोसँग काम नगरेकाले कुनै संयन्त्र बनाएर स्थानीय र प्रदेश तहलाई सम्भावित तेस्रो लहरको रोकथाम र नियन्त्रणमा जिम्मेवार बनाउनुपर्ने बताए ।

अर्थमन्त्रालयका सचिव मधुकुमार मरासिनीले होल्डिङ सेन्टर स्थापनाका लागि बजेट अभाव हुन नदिने बताए । उनले सबै नेपालीलाई खोपको लागि आर्थिक स्रोत सुनिश्चित भइसकेको जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोखरेलले तेस्रो लहरको जोखिम बढेकाले भीडभाड हुने ठाउँमा सतर्कता अपनाउनुपर्ने बताए । उनले यही महिनाभित्र स्थानीय तहसँगको सहकार्यमा खोप अभियानलाई तीव्रता दिइँदै सबैलाई खोप लगाउने जानकारी दिए । उनले दिनप्रतिदिन संक्रमितको सङ्ख्या बढिरहेकाले सीमा नाकामा परीक्षणको दायरा बढाइएको बताए । उनले सम्भावित तेस्रो लहरको संक्रमण रोकथाम र नियन्त्रणका लागि पाँचौँ कोभिड–१९ स्वास्थ्य द्रुत कार्ययोजना बनाइरहेको जानकारी दिए ।

नेपाली सेनाका उपरथी डा अरुण न्यौपाने र सेनानी राजीवमोहन झाले सम्भावित तेस्रो लहरको नियन्त्रण तथा रोकथाममा नेपाली सेनाले खेल्ने सक्ने भूमिकाबारे प्रस्तुति दिए । सेनानी झाले एक हजार क्षमताका नौ वटा होल्डिङ सेन्टर निर्माण भइरहेको बताए । उनले अहिलेसम्म ७८ प्रतिशत होल्डिङ सेन्टरको भौतिक प्रगति भइसकेको भन्दै बजेट अभावका कारणले होल्डिङ सेन्टर स्थापनामा ढिलाइ भएको समेत जानकारी गराए । रु दुई अर्ब २९ करोड होल्डिङ सेन्टरका लागि बजेट विनियोजन भए पनि हालसम्म एक अर्ब निकासा नभएको उनले स्पष्ट पारे ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू