शनिबार, माघ ५, २०८१
01:52 | ०७:३७

हिमपात र बर्षाका कारण अफगानिस्तानमा संकटकाल घोषणा 

रासस-एएफपी जनवरी ५, २०२२

काबुल । भारी हिमपात र वर्षाले मुलुकलाई मारमा पार्न थालेपछि अफगानिस्तानमा आपतकालीन अवस्थाको घोषणा गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । वर्षा र हिमपातका कारण आउनसक्ने सङ्कटको सामना गर्न थप तयारीका लागि विपद् व्यवस्थापन राज्य मन्त्रालयका अधिकारीहरूले प्रभावित क्षेत्रका प्रदेश अधिकारीहरूलाई निर्देशन दिएको खामा प्रेसले जनाएको छ ।

हिउँ र वर्षाको समयमा नागरिकहरूलाई सहयोग गर्न प्रान्तहरूमा सामग्रीहरू पठाइएको र तिनीहरूको वितरण भइरहेको मन्त्रालयका मुहम्मद अमिन मुबारिजले बताए । ३४ प्रान्तमध्ये अफगानिस्तानका ३२ प्रान्तमा निरन्तरको हिउँ र वर्षा हुँदा ठाउँठाउँमा बाटोहरू अवरूद्ध बनेका बताइएको छ । अविरल वर्षाका कारण केही स्थानमा बाढी पहिरो गएको हो ।

यसैबीच भीषण हिमपातका कारण बन्द भएका सेवाहरूलाई पुनः सञ्चालनमा ल्याउन जनश्रम मन्त्रालय र अन्य केही निजी कम्पनीहरू पनि विपद् व्यवस्थापन अधिकारीहरूसँग सम्पर्कमा रहेको पनि मुबारिजले बताए । काबुललाई उत्तरी प्रान्तहरूसँग जोड्ने सलाङ राजमार्ग भारी हिमपात र हावाका कारण पूर्णरूपमा अवरूद्ध बनेको खामा प्रेसले जनाएको छ ।

मानवीय सहायता सामग्री वितरणमा अवरोध

संयुक्त राष्ट्रसंघ र यसका सहयोगी संस्थाहरुका साथै अरु विभिन्न संघसंस्थाहरुले अफगानिस्तानमा मानवीय सहायता सामग्री वितरणको काममा अवरोध व्यहोर्नु परेको छ ।

केही दिनयतादेखि मौसमका कारण यस्तो अवरोध व्यहोर्नुपरेको बताइएको छ । पछिल्ला केही दिनयता यहाँ वर्षा र हिमपात भएको छ ।

यसका कारण यहाँ मानवीय सहयता वितरण गर्ने काममा अवरोध उन्त्पन्न भएको छ । यहाँ हप्ता दिनभन्दा लामो समयदेखि बाक्लो हिउँ परेको छ भने अधिकांश स्थानमा पानी पनि परेको छ । यसका कारण जनजीवन निकै कष्टकर भएको छ । अफगानिस्तानको राजधानी काबुल जाने र काबुलबाट अन्य सहरका लागि उड्ने हवाई उडानहरु पनि वर्षा र हिमपातका कारण हुन सकेका छैनन् ।

हिमपातले स्थानीयलाई असर गरिरहेको छ भने मानवीय सहायता सामग्री वितरणका लागि काम गरिरहेका संयुक्त राष्ट्रसंघीय र अन्य संस्थाका सहायताकर्मी पनि विरामी परेका बताइएको छ ।

यहाँ पछिल्लो समयमा विभिन्न देशले जाडोका लागि कपडा, खाद्यान्न तथा औषधिहरु उपलब्ध गराइरहेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू