सुडानमा हिंसा चर्कियो, संयुक्त राष्ट्रसंघद्धारा निन्दा
संयुक्त राष्ट्रसंघ, २० पुस– संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेसले सुडानमा भएको हिंसाको निन्दा गरेका छन् । उनले सुडानमा निरन्तर रुपमा बढ्दै गएको प्रदर्शनकारीमाथिको हिंसाको निन्दा गरेका हुन् ।
यहाँ सरकारका विरुद्धमा विगत लामो समयदेखि प्रदर्शन जारी छ । सो प्रदर्शनका विरुद्धमा यहाँका प्रहरीले प्रदर्शनकारीमाथि आक्रमण गरिरहेका छन् । उक्त प्रदर्शनका क्रममा हालसम्म कम्तीमा ५७ जनाको मृत्यु भइसकेको छ ।
सुडानमा आन्दोलनका क्रममा भएको हिंसाको विरोध गर्दै महासचिव गुटर्रेसले प्रहरीलाई संयमता अपनाउन आग्रह गरेका छन् । उनले भनेका छन्– ‘यो प्रदर्शनका क्रममा कैयौँ व्यक्तिको ज्यान गएको छ, प्रहरीले नागरिकको शान्तिपूर्ण रुपमा भेला हुने र आफ्ना असहमतिका विषयमा शान्तिपूर्ण रुपमा प्रदर्शन गर्न पाउने अधिकारको सुरक्षा गर्नुपर्छ ।’
महासचिवका प्रवक्ता स्टेफान डुजारिकले जनाए अनुसार यस्तो अवस्थामा सुडानमा शान्तिपूर्ण रुपमा राजनीतिक निकासको खोजी गर्न आग्रह गरिएको छ । यहाँको राजनीतिक अवस्था निकै संकटपूर्ण अवस्थामा पुगेको छ । साथै महासचिव गुटर्रेसले यहाँका सबै राजनीतिक शक्ति र पार्टीहरुलाई शान्तिपूर्ण वार्ताको टेबुलमा बसेर निकास खोज्ने काममा लाग्न पनि आग्रह गरेका छन् ।
सुडानका प्रधानमन्त्री अब्दुल्लाह हामदोकले गत आइतबार आफ्नो पदबाट राजीनामा दिएका थिए । सुडानमा पछिल्लो समय राजनीतिक संकट गहिरिँदै गएको छ । यहाँ प्रजातान्त्रिक प्रक्रियाबाट निर्वाचनको प्रयास भने जारी छ ।
राजनीतिक संकट थप बढ्दै गएका बेला उनले आफ्नो पदबाट राजीनामा दिएको समाचारमा जनाइएको छ । नागरिक शासन बहाल गर्न माग गर्दै प्रदर्शन चर्किएपछि प्रधानमन्त्री अब्दुल्लाह हामदोकले राजीनामा दिएका थिए ।
टेलिभिजनमार्फत् देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री हामदोकले राजीनामा घोषणा गरेका हुन् । देशलाई अप्ठ्यारो अवस्थामा फस्नबाट जोगाउन आफूले सक्दो प्रयास गरेको तर सहमतिमा पुग्न नसकेको बताउँदै उनले भनेका थिए, ‘मैले जिम्मेवारी फिर्ता गर्ने निर्णय गरेको छु र प्रधानमन्त्रीको रुपमा मेरो राजीनामा घोषणा गरेको छु ।’
सुडान एक ‘खतरनाक मोड’ मा रहेको बताउँदै उनले संक्रमणकालीन अवधिको बाँकी काम पूरा गर्न मद्दत गर्ने बताएको छ ।
गत अक्टोबरमा सेनाले ‘कू’ गर्दै सत्ता कब्जा गरेपछि हामदोकलाई नजरबन्दमा राखेको थियो । त्यसपछि केही हप्ता अगाडि मात्रै उनलाई सेनाले प्रधानमन्त्रीमा पुनःबहाली गरेको थियो ।
तर, सेनासँग सम्झौता गरी प्रधानमन्त्री बनेको भन्दै उनको विरोध हुँदै आएको थियो । सुडानका नागरिकहरुले सेनासँगको सम्झौता नमान्ने र पूर्ण नागरिक शासन बहाल हुनुपर्ने माग गर्दै आएका थिए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५