शनिबार, माघ ५, २०८१
19:20 | ०१:०५

बेलायतमा एकैदिन दुई लाख १८ हजार संक्रमित

नेपाली लिङ्क जनवरी ४, २०२२


लन्डन । बेलायतमा दैनिक कोरोना संक्रमितको  संख्या अत्यधिक मात्रामा बढेपछि स्वास्थ्य क्षेत्रमा नराम्रो असर पर्न थालेको छ । बितेको २४ घन्टामा दुई लाख बढी संक्रमित भएका छन्, जुन महामारीयताकै नयाँ कीर्तिमान हो ।

‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार थप दुई लाख १८ हजार ७२४ मा नयाँ संक्रमण पुष्टि भएको हो । संक्रमित संख्या एकसाताभित्र ६८ प्रतिशले वृद्धि भएको अधिकारीहरुले बताएका छन् ।

यससंगै बेलायतमा कोरोना संक्रमितको संख्या एक करोड ३६ लाख ४१ हजार ५२० पुगेको छ । नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ का कारण बेलायतमा संक्रमण दर अत्यधिक रुपमा बढेको हो । संक्रमणका कारण अस्पताल भर्ना हुनेको संख्या पनि उकालो लाग्न थालेपछि स्वास्थ्य क्षेत्रमा नराम्रो असर पर्ने अनुमान गरिएको छ ।

संक्रमणदर बढेसंगै अस्पतालहरुमा पनि बेडको अभाव हुनसक्ने चिन्ता बढेको छ । स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारीहरु नै संक्रमित हुन थालेपछि अस्पतालमा स्वास्थ्यकर्मीको अभाव हुन थालेको छ । बेलायतको नेशनल हेल्थ सर्भिस (एनएचएस) मा काम गर्ने कर्मचारीहरुमध्ये अहिले १० जनामा एकजना कर्मचारी संक्रमित भएर अनुपस्थित भएको बताइएको छ ।

करिब एक दर्जन अस्पातालमा कर्मचारी अभावका कारण संकटको अवस्था सृजना भएको समाचार माध्यममा उल्लेख छ । अस्पतालमा मात्र नभई अन्य क्षेत्रमा समेत कर्मचारीहरु ‘आइसोलेशन’ मा बस्न थालेपछि कर्मचारी अभाव हुन् थालेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा थप ४८ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य विभागले जनाएको छ । बेलायतमा हालसम्म कोरोनाका कारण एक लाख ४८ हजार ९४१ जनाको ज्यान गइसकेको छ । संक्रमित संख्यामा वृद्धि भएपनि मृतक संख्यामा भने अहिलेसम्म खासै वृद्धि भएको छैन ।

नयाँ भाइरस पहिलाको ‘डेल्टा’ जस्तो संक्रामक नभएपनि तीव्र रुपमा फैलिने भएकाले पनि मृतक संख्या अहिलेसम्म सामान्य नै छ ।

बेलायतमा हालसम्म ९०.१ प्रतिशतले कोरोनाविरुद्धको खोपको पहिलो मात्रा लिएका छन् । यसैगरी दोस्रो मात्र लगाउने पनि ८२.६ प्रतिशत रहेको तथ्यांकले देखाएको छ ।

तीन करोड ४३ लाख ६३ हजार ९८६ अर्थात ५९.८ प्रतिशतले ‘बुस्टर डोज’ लगाइसकेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू